धरान । काठमाडौं महानगरीय प्रहरी कार्यालयले आफ्नै संगठनका पूर्व आइजीपी सवेन्द्र खनालसहित चार जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

प्रहरीले नेकपाका २ सांसद् महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान), पूर्व आइजीपी खनाल र नवीन बस्नेतविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा उजुरी दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता भएपछि अनुसन्धानका लागि काठमाडौंको महानगरीय प्रहरी कार्यालयलाई शुक्रबार पठाएको छ । उनीहरूविरुद्ध समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादवमाथि जनकपुरबाट जबर्जस्ती अपरहण गरी काठमाडौंसम्म ल्याएको आरोप छ ।

यसअघि प्रहरी कार्यालयमा उजुरी दर्ता नभएपछि समाजवादी पार्टीका नेतृत्वपंक्तिहरू सरकारी वकिलको कार्यालय पुगेका थिए । सरकारी वकिलको कार्यालयमा पनि केही दिनसम्म तामेलीमा राखेर कागजपत्र अनुसन्धानपछि मुद्दा दर्ता गरेको थियो । सांसद् यादवसहित पार्टीका नेताहरू सरकारी वकिलको कार्यालयसहित राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए ।

एसएसपी श्यामलाल ज्ञवालीले पूर्वआइजीपी खनालसहित चारै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान अगाडि बढेको जानकारी दिए । यता पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका नेता डा. बाबुराम भट्टराई, सांसद् यादव र विश्वदीप पाण्डेविरुद्ध साइबर अपराधमा उजुरी परेको छ । उनीहरू विरुद्धको उजुरी पनि प्रहरीमा दर्ता भएको छ । उनीहरूले सांसद् महेश बस्नेतलगायतले आफ्ना सांसद्लाई अपरहण गरेको सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सोही आधारमा मुद्दा दर्ता गरिएको हो । आफूहरूमाथि मानहानी भएको दाबीसहित उजुरी गरेको प्रहरीले जनाएको छ ।