पथरीशनिश्चरे / पटक पटक जबरजस्ती करणी गरेर १६ वर्षीया बालिकालाई गर्भवती बनाएको अभियोगमा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ८ का ४८ वर्षीय राजन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।
लिम्बूले दलित परिवारकी बालिकालाई विगत छ महिनादेखि कसैलाई नभन्न धम्की दिँदै पटक–पटक जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जनाए ।
स्वास्थ्य परीक्षणबाट बालिकाको पेटमा लिम्बूको पाँच महिनाको गर्भ रहेको खुलेको गिरीले बताए ।
बालिकाका अभिभावकले जाहेरी दिएको थाहा पाएर भाग्दै गरेको अवस्थामा लिम्बूलाई विहीवार राति पक्राउ गरिएको छ । उनी विरुद्ध जवरजस्ती करणी मुद्धा चलाउन अनुसन्धान सुरु गरिएको छ । पीडित गर्भवती बालिकालाई भने संरक्षणका लागि ओरेक नेपालको जिम्मा लगाइएको छ ।