(होक्लाबारी, मोरङ) । कमल र गंगाका जेठा छोरा हुन् आयुष गिरी । उनीहरूका दुई छोरा मात्र छन् । कान्छा छोरा ११ वर्षका छन् । मोरङ कानेपोखरी गाउँपालिका – १ होक्लाबारीका १८ वर्षीय आयुषको अल्पायुमा रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियाे ।
मापसे गर्दा विवाद भएपछि कुटपिट पछि हत्या भएको र शव बेलबारी नगरपालिका–७ दौलतपुरस्थित नहरको डिलमा फालिएको हुनसक्ने यहाँका स्थानीयले आशंका गरेका छन् । मृतकको शरीरमा निलडाम र चोटपटक रहेकोले हत्या गरिएको आशंका गरिएको हो । बुधबार करिब ३ बजेतिर बाहुनी बजार जान्छु भनेर छोरा घरबाट हिँडेका आयुषका बाबु कमलले बताए ।
‘पहिला पनि छोरा बजार जाने गरेका थियो,’ उनले भने, ‘पहिला साँझमा घर आउने गरेको थियो । सदा झैं त्यसदिन पनि घर आउँछ भन्ने लाग्याे । बुधबार रातिसम्म नआएपछि हामी पनि अतालियौं । छोराको मोबाइलमा फोन पनि गरियो । तर फोनमा सम्पर्क हुन सकेन ।’ बिहीबार बिहान आयुषको शव नहरको डिलमा मृत अवस्थमा मर्निङवाक गर्ने क्रममा स्थानीयले देखेर आफुले खबर पाएपछि स्तब्ध भएको उनले गहभरी आँशु पार्दै ब्लाष्टलाई सुनाए ।
आयुषले स्थानीय स्कुलबाट एसइइ पास गरेपछि पढाइ छाडेका थिए । आर्थिक अवस्था कमजोर रहेको गिरी परिवारका जेठा छोरा आयुष लामो समयदेखि स्थानीय ट्याक्टरमा सहचालकको रूपमा काम गर्दै आएका थिए । ‘छोराले पढाइ छोडेर ट्याक्टरमा काम गर्दै आएको थियो,’ बाबु कमलले भने, ‘यहीँ छोराले परिवारको रेखदेख पनि गर्दै थियो । हाम्रा मुटुका टुक्रा जस्तो छोरालाई कुन पापीहरूले मारिदिए नहरको डिलमा फालिदिएँ ।’ मृतक परिवार र आफन्तले चाँडो छानबिन गरी दोषीलाई कडा कारबाहीको माग पनि राखेका छन् । शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेपछि बिहीबार साँझ नै चिसाङ्ग खोलामा दाहसंस्कार गरिएको छ ।
दोषीलाई कारबाहीको माग
मृतकका परिवार र आफन्तले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग राखेका छन् । घटनाकाे सत्यतथ्य पत्ता लगाइ दोषिलाई काडा कारबाही हुनुपर्ने मृतककी फुपु लीला गिरीले बताइन् । इलाका प्रहरी कार्यालय बेलबारीले बिहीबार दिउँसो ११ जना पक्राउ गरी अनुसन्धान थालेकाे छ । आयुषको मृत्यु शंकास्थपद रहेकोले ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको इप्रका बेलबारीका प्रमुख इनिस्पेक्टर ऋषिराज ढकालले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएका लिएकाहरू उनीसँगै ट्याक्टरमा काम गर्ने चालक र उनका साथीहरू रहेका छन् । नियन्त्रणमा लिएका केही शंकास्पद युवक र मृतक युवकले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेकाे प्रहरी अनुसन्धानमा देखिएकाे छ ।
ब्यूरो टोलीसहितको संयुक्त अनुसन्धान
यस घटनामा घटनामा ११ जनालाई नियन्त्रणमा लिएर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको बिशेष ब्यूरो टोलीसहित तीन वटा टोलीले संयुक्त रूपमा सूक्ष्म अनुसन्धान सुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी टोलीसहित ब्यूराको टोलीले संयुक्त रूपमा अनुसन्धान सुरू गरेको हो ।
पक्राउ परेकाहरूलाई लिएर बुधबार राति मादपक पदार्थ सेवन गरिएको घटनास्थलमा प्रहरीले दशी (प्रमाण) जुटाउने काम सुरू गरेको प्रहरी स्रोतको भनाइ छ ।