तेह्रथुम । फेदाप गाउँ पालिका ५ साबिक इसिबु सिङ्गला टोलका एक युवाले धारिलो हतियार प्रयोग गरी जन्मदिने आमाबुबाको हत्या गरेका छन् ।
बिहीबार साँझ ७ बजेतिर स्थानीय २० वर्षीय कञ्चन लिम्बूले आफ्नै बाबू ४२ वर्षीय रूपबहादुर र सौतेनी आमा ३५ वर्षीय रूपेनी लिम्बूलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । दुवै जनाको हत्या लगतै फरार भएका लिम्बूलाई प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्ग संयुक्त टोलीले इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका एसपी नवीनकिशोर प्रधानले बताए ।
मृतक दम्पत्तीको शव जिल्ला अस्पताल तेह्रथुममा ल्याइएको छ । हत्याको कारण खुल्न सकेको छैन । त्यसबारे अनुसन्धान भइरहेको एसपी प्रधानले जानकारी दिए ।