ताप्लेजुङ / ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने सडकमा बार लगाएर बाहिरका मानिसलाई रोक लगाएको छ । वडा नं १ को खोक्से, वडा नं ६ को चिउरीगोलाई र वडा नं ५ को चाक्सिबोटेमा बार लगाइएको हो । मेची राजमार्ग बन्द भएपछि जिल्लाको पूर्वी भेगमा मान्छेले गाउँको सडक प्रयोग गर्न थालेपछि सडक बन्द गरिएको गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधि, प्रहरी र स्थानीयले बार लगाएका हुन् ।
सम्झाउदासमेत नमानेपछि बार लगाउन बाध्य भएको गाउँपालिका प्रमुख केशरकुमार सुब्बाले बताए । गाउँका मानिसलाई सम्झाउन निकै कठिन रहेको सुब्बा बताउँछन् । जिल्लाका अन्य गाउँमा पनि बाहिरका मानिसलाई कडाई गरिएको छ । जिल्लाको प्रवेशद्धार काबेलीमा हेल्थ डेस्क राखिएको छ ।
एम्बुलेन्स र खाद्यान्न जस्ता अत्यावश्यक सवारीले समेत त्यहाँ परीक्षण गरेरमात्र जिल्ला प्रवेश पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैविच शुक्रवार ताप्लेजुङ उद्योग वाणिज्य संघको भवनमा थप १५ बेडको क्वारेन्टाइन स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार जिल्लाका अन्य आठ वटै गाउँपालिकामा शनिवार सम्ममा १० बेडको क्वारेण्टाईन स्थापना गरिसक्ने तयारी छ । विज्ञप्ती जारी गर्दै प्रशासनले जिल्लामा खाद्यान्न, औषधी र पेट्रोलियम पदार्थको मौज्दात र वितरण सामान्य रहेको जनाएको छ । प्रशासन, नगरपालिका, वाणिज्य संघले विहान बजार अनुगमन गरेको थियो । यता जिल्लामा संक्रमणको आतंकबाट त्रसित हुनुपर्ने अवस्था नरहेको समेत विज्ञप्ती मार्फत दावी गरिएको छ । लकडाउनको चौँथो दिन शुक्रवार पनि ताप्लेजुङ सुनसान नै रह्यो ।