धरान । सरकारले लकडाउनको अवधि बढाउने विषयमा छलफल थालेको छ ।

कोरोनाको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउनलाई थप्ने तयारी गरिरहेको हो । नेपालमा हालसम्म चार जनामा कोरोनाभाइरसको संक्रमण देखिसकेको छ । यसअघि तीनजनामा देखिएको थियो भने दुबईबाट फर्किएका एक युवामा पनि कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ ।

यसमध्ये एक जना उपचार पछि घर फर्किएका छन् । कोरोनाको प्रभावलाई कम गर्नका लागि शुक्रबार सिंहदरबारमा उच्च स्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकले एक साताका लागि गरेको लकडाउनलाई बढाउने विषयमा तयारी थाल्नका लागि सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन गरेको छ ।

सरकारले यसअघि चैत ११ गतेबाट १८ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । पछिल्लो समय हवाइ र स्थल मार्गबाट स्वदेश फर्किनेहरू बढ्न थालेपछि सरकारले लकडाउनको अवधि बढाउने तयारी थालेको हो । विदेशबाट फर्किएकाहरूको स्वास्थ्य जाँचको अवस्थाको अवधिभरि लकडाउनलाई बढाउने तयारी थालेको समाचारहरूमा उल्लेख छ । बैठकले अतीआवश्यकीय वस्तुहरूको उत्पादन र त्यस्ता सामग्रीहरूलाई घर–घरसम्म पु¥याउनका लागि सहजीकरण गर्नका लागि समेत निर्देशन दिएको छ ।