भद्रपुर । नेपाल सरकारले नेपाल–भारत सीमा सिल गरेकै दिन चोरी निकासीको बाटो प्रयोग नेपाल भित्राइएको २ सय किलो माछा प्रहरीले बरामद गरेको छ ।
प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार भद्रपुर ५ स्थित मसानघाट नजिकैबाट माछा भरिएका ६ वटा कार्टुन बरामद गरेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बरामद गरिएको माछालाई अस्थायी क्वारेन्टाइन चेक पोस्ट भद्रपुर परिसरमा सबैको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भद्रपुर नाकाबाट भित्राइने भारतबाट आयातित माछा–मासुमा रोक लगाएपछि चोरी निकासीको बाटोबाट व्यापारीले माछा भित्राउने गरेका छन् ।