वराहक्षेत्र । कोरोना भाइरसको हेल्प डेस्क राखेको दाबी गर्ने वराक्षेत्र नगरपालिका–१ को आराध्यदेव वराहक्षेत्र मन्दिरमा हेल्प डेस्क राखिएको छैन ।

हेल्प डेस्क राखिने भनिए पनि नराखेकोप्रति स्थानीयले गुनासो गर्न थालेका छन् । कोरोनाको जोखिम भइरहेको बेला हेल्प डेस्क नराखेकोप्रति स्थानीयले आक्रोस व्यक्त गरे ।

वराहक्षेत्रमा भोजपुर, धनकुटा, त्रिवेणी, सिम्लेलगायतका पहाडी क्षेत्रबाट नगरपालिका प्रवेश गर्ने गरेका छन् । त्यस्तै विभिन्न स्थानबाट भक्तालूहरूसमेत आउने गरेका कारण हेल्प डेस्क अनिवार्य राख्नु पर्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिए ।

उनले वराहक्षेत्र मन्दिरको बाटो भएर सयौं बटुवा तथा यात्रीहरू ओहोरदोहोर गर्ने उनले बताए । यसअघि नगरपालिकाले २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्दै निर्णय गरेको थियो । त्यस्तै नगरको १० वटा क्षेत्रमा स्वास्थ्य चौकी, कोशी पुल र मन्दिरमा हेल्प डेस्क राख्ने निर्णय गरेको थियो । कोशी पुलमा राखिएको हेल्प डेस्कमा बटुवाहरूको थर्मल स्कयानिङ्ग गरेर दैनिक रेकर्ड राखिने गरिएको नगर अस्पतालका प्रबन्ध निर्देशक डा. अनिल गिरीले बताए ।

कोरोनाका कारण वराहक्षेत्र मन्दिर पूजा दर्शनका लागि बन्द गरिएको छ । वराहक्षेत्र संरक्षण मञ्चले सोमवार सूचना जारी गर्दै अर्को सूचना जारी नभइञ्जेलसम्मका लागि बन्द गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

यस सम्बन्धमा १ नम्बरका वडाध्यक्ष सुरेश श्रेष्ठले हेल्प डेस्क वडाले नभइ नगरपालिकाले राख्ने बताए । उता नगर नगरप्रमुख निलम खनालसँग प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।