इटहरी/ कुनै बेला इटहरीको बसपार्क पुग्नेहरूलाई यौनकर्मी महिलाहरूले सिधै यौन सम्पर्कका लागि प्रस्ताव गर्थे । त्यसैले बसपार्क पुग्नेहरूलाई पनि त्यस क्षेत्रका होटल व्यवसायीहरूले राम्रो नजरले हेर्दैनथे । तर त्यो बदनामबाट इटहरी बसपार्क अहिले सुधारोन्मुख अवस्थामा छ । कुनै बेला खुलेआम यौनधन्दाको प्रस्ताव गर्ने यौनकर्मी महिलाहरू भागाभाग भएका छन् ।
सञ्जाल फैलाएर हुने यौनधन्दाका कारण देशभर बदनाम भएको इटहरी सुध्रने प्रयास गर्दैछ । त्यसबेला ‘कन्ट्याक्ट’ मा युवती राखेर यौनधन्दा चलाउने गिरोह नै सक्रिय रहेको इटहरी केही वर्षदेखि सुध्रिँदै छ । इटहरी बसपार्क व्यवस्थापन समितिका अध्यक्ष तथा होटल व्यवसायी बाबुराम गिरी बसपार्क सुध्रिएको बताउँछन् । ‘कुनै बेला यौनधन्दाले बदनाम भएको इटहरी अहिले सुध्रिएको छ’ उनले भने, ‘पहिला राम्रो मान्छे बसपार्क आउनसम्म मान्दैनथे, अहिले त्यस्तो अवस्था छैन ।’
इलाका प्रहरी कार्यालय इटहरीका तत्कालीन डिएसपी विनोद शर्मा रहेका बेला इटहरीको यौनधन्दा ध्वस्त भएको हो । काठमाडौं, हेटौंडा, बुटवल, पोखरादेखिका युवतीहरू बोलाएर यौनधन्दा चलाउनेहरू पक्राउ परेसँगै यौनधन्दा ध्वस्त भएको थियो । त्यसपछि यौनधन्दा सञ्चालन गर्नेहरू इटहरीबाट अन्यत्र सरे भने सञ्जालसमेत तोडियो । खुलेआम हुने यौनधन्दा रोकिएको भए पनि ‘कलगर्ल’ का रूपमा भने यौनधन्दा भइरहेको बताउँछन् इटहरीका–९ का पुराना बासिन्दा लोचन कार्की । उनी भन्छन्, ‘अहिले पहिलाजस्तो यौनधन्दा छैन, तर कोठा भाडामा लिएर यौनधन्दा भएको भन्ने सुनिएको छ ।’ तर चिया पसलहरूमा समेत हुने यौनधन्दा भने रोकिएको उनी बताउँछन् ।
यता महिला सहयोगी समूह इटहरीले प”र्वका तराई र पहाडका जिल्लामा गरि पाँच सय हाराहारी महिला अहिले पनि यौन व्यवसायीका रूपमा कार्यरत रहेको जनाएको छ । यीमध्ये आधाजसो त किशोरी नै रहेको तथ्याङ्कमा उल्लेख छ । महिला सहयोगी समूहका अनुसार झापा, मोरङ, सुनसरीसँगै प्रदेश १ का पहाडी जिल्लाका महिला मोबाइल सम्पर्कका आधारमा यौनधन्दा गर्न शहरमा आउने गरेको महिला सहयोगी समूहकी विमला ठकुरीले जनाइन् ।
उनका अनुसार विशेषगरी भारतीय ग्राहक बढी मात्रामा आउने गर्छन् । यौन व्यवसायीका रूपमा काम गर्ने महिलाले पहिला पहिला इटहरी र धरान क्षेत्रका होटललाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्थे । अचेल होटल प्रयोग गर्न छाडेका छन् । ‘पछिल्लो समय होटलभन्दा पनि विशेषगरी घर, कोठा भाडामा लिएर सुरक्षित स्थान रोज्ने गरेको पाइएको छ’ उनले भनिन्, ‘बढी मात्रामा भेडेटार त्यसमा पनि घरका कोठा लिएर मोबाइल सम्पर्कका आधारमा यौनधन्दा गर्ने गरेको पाइएको छ ।’
उनका अनुसार भारतीय नागरिकसँगै नेपालका विभिन्न क्षेत्रका नागरिक पनि ग्राहकका रूपमा आउने गरेका छन् । बालबच्चा भएका महिला यौनकर्मी बर्सेनि ३० जनाको हाराहारीमा सम्पर्कमा आउने गरेका छन् । महिला सहयोगी समूहका अनुसार थुप्रै महिला अहिले संस्थाको सम्पर्कमा छैनन् । कतिपय महिलाले छोराछोरी नै त्यागेका छन् । त्यसरी महिलाले त्यागेका छोराछोरी सडक बालबालिका बन्ने गरेका छन् ।
थुप्रै यौनकर्मी महिला मानसिक रोगी समेत भएका छन् । विशेषगरी ५० वर्ष पार गरेका महिला मानसिक रोगी रहेकोमा अहिले पनि १२ जना हाराहारीमा यस्तो समस्या देखिएको महिला सहयोगी समूहकी अध्यक्ष कमला खड्काले बताइन् । उनका अनुसार अहिलेसम्म दस जना यौनकर्मी महिलाले व्यापार–व्यवसाय गर्दै आएका छन् ।
होटल सञ्चालक तथा भाडामा लिएर यौनधन्दा चलाउनेहरूलाई मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कारबाही हुनेछ । यौनधन्दामा संलग्न युवतीलाई भने केही सार्वजनिक अपराध सजाय ऐन २०२६ अन्तर्गत कारबाही हुनेछ ।
इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्कमा पनि यौनधन्दाको ग्राफ घट्दो छ । यौनधन्दा गराएको भन्दै ७ जना विरुद्ध प्रहरीले मुद्दा दायर गरेको थियो । केहीलाई मानव बेचविखन र केहीलाई अन्य मुद्दा दायर भएको हो । २०७४÷७५ मा ३ वटा मुद्दा दायर गरेको थियो । २०७५÷०७६ मा ७ वटा मुद्दा दायर भएको थियो भने २०७६÷७७ को अहिलेसम्म २ वटा मुद्दा दायर भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीेले बताए ।






























