भण्टाबारी । ऐतिहासिक जनआन्दोलन २०४६ मा आधारित यथार्थबादी नाटक "दमनको राप" सुनसरी सदरमुकाम इनरुवामा सुरु भएको छ । २०४६ सालको जनआन्दोलनको झल्को देखाउने उक्त नाटक इनरुवा नगरपालिकाको आयोजनामा आइतबारबाट इनरुवास्थित कमल टाकिजमा सुरु भएको हो ।

आइतबारबाट सुरु भएको नाटक तीनदिनसम्म चल्नेछ । प्रजातन्त्र ल्याउने २०४६ सालको जनआन्दोलनमा  ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक तथा कवि राजकुमार कार्की लगायतले भोगेको यातना उक्त "दमनको राप" नामक नाटकमा दर्शकहरुले हेर्न सकिने नाटकका निर्देशक बिक्रमश्री बताउँछन् । जनआन्दोलन मार्फत देशमा प्रजातन्त्र प्राप्तिका लागि कार्की लगायतले खेलेको भूमिका तथा प्रहरी प्रशासनबाट भोगेका चरम यातना देखाउदै नयाँ पीढीलाई प्रजातन्त्रको महत्त्व बताउने उद्देश्यले उक्त नाटक सृजना गरेको नाटकका लेखक गोपाल देवानको भनाइ छ ।

आइतबारबाट इनरुवामा सुरु "दमनको राप" हेर्न दर्शककाे चाप अत्यधिक देखिएको थियो । धरान इटहरी हुँदै सदरमुकाम इनरुवासम्म आएपुगेको उक्त यथार्थबादी नाटक हेर्न जिल्लाको विभिन्न ग्रामीण भेगबाट समेत दर्शकहरु आएका थिए । सिडिओ सुनसरी र इनरुवा नगरपालिकाको आयोजनामा सुरु भएको उक्त "दमनको राप" नाटकका प्रमुख पात्र राजकुमार कार्कीलाई इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेल,प्रमुख प्रशासकीय अधिकृत षडकुमार पोखरेल, इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेल,सुनौज निरौला,धीरज भट्टराईसहितले सम्मान गरेका थिए ।