लक्ष्मीमार्ग/ मोरङ बेलबारी–८ राधानगरस्थित एम्ब्रियो खेलमैदानमा मोरङ र झापाका केही विद्यालयका दुई सय ५५ जना विद्यार्थीहरू शुक्रबारदेखि स्काउटको आत्मरक्षा तथा विपद् व्यवस्थापन तालिम लिइरहेका छन् ।

मोरङको सिंहदेवी एकेडेमी, शिशिर एकेडेमी, अमर एकेडेमी, क्रिस्टल एकेडेमी, काली माध्यमिक तथा झापाको विद्योदय माध्यमिक विद्यालय गौरादहका विद्यार्थीहरूले आत्मरक्षा तालिम लिइरहेका छन् । बेलबारीको सिंहदेवी एकेडेमीमा दुई वर्षअघि भित्रिएको स्काउटको आकर्षण हाल यसभेगका अन्य विद्यालयमा पनि बढ्दो आकर्षणको रूपमा रहेको सिंहदेवी एकेडेमीका सञ्चालक रविन थापा बताउँछन् ।

नेपाल स्काउट अन्तर्गत संयुक्त ट्रेनिङ क्याम्पले आयोजना गरेको कार्यक्रममा उत्साहका साथ विद्यार्थीहरूले खोलामा बाढी आए उद्धार गर्ने तरिका, आगलागीमा धनजनको रक्षा गर्ने तरिका, हवाईजहाजबाट प्यारासुटको प्रयोग गरेर उद्धार गर्ने तरिकाहरू प्रयोगात्मकसहित सिकिरहेको शिशिर एकेडेमीका जीवन खड्काले बताए । उनले दुई दिनदेखि जङ्गलमा बस्दाको अनुभव सुनाउँदै भने, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायकले आपत विपदमा गर्ने उद्धारसम्बन्धी तालिम लिइरहेका छौं ।’

विद्यालय जाने उमेर समूहबीच सामाजिक अभियानमा जागृत गराएर संस्कृति प्रदर्शन गरिन्छ । उनीहरूलाई आत्मरक्षासँगै सामाजिक अभियानमा समेट्न टेवा पुग्ने क्याम्पका म्यानेजर सन्तोष घिमिरेले बताए । ‘स्काउटको अभियानबाट विद्यार्थीबीचको भाइचाराको सम्बन्ध विकास गर्न खोजेका हौं’ उनले भने, ‘यो अभियानले विद्यार्थीको क्षमता विकास हुन्छ ।’ आइतबारसम्म चल्ने उक्त क्याम्पको शुक्रबार प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मतबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

sip