विराटनगर/ विराटनगर–रङ्गेली हुँदै झापा जोड्ने पूर्व–पश्चिम वैकल्पिक राजमार्गको रूपमा रहेको हुलाकी सडक विस्तारको काम धमाधम भइरहेको छ ।

विराटनगरदेखि झापाको भद्रपुर जोड्ने हुलाकी सडक निर्माणको काम धमाधम भइरहेको हो । शहरीक्षेत्रमा एकसय फिट तथा शहरीक्षेत्रभन्दा बाहिर ४० फिट विस्तार हुने गरी कामले गति लिएको छ । पहिलो चरणमा रङ्गेली नगरपालिका अन्तर्गत पर्ने वेतौनाचौक देखि पूर्वी सिमाना मधुवनी सम्मको साढे सात किलोमिटर क्षेत्रमा अहिले धमाधम काम भइरहेको रङ्गेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले बताए । रङ्गेली बजारक्षेत्रमा शहरी मापदण्डअनुसार सडक विस्तारको काम भइरहेको उनले बताए । स्थानीय जनतासँगको समन्वयमा मापदण्डभित्र पर्ने घरटहरा हटाइएको र सडक विस्तार गर्दा विस्थापित सुकुम्बासी परिवारलाई उचित ठाउँमा बसोबासको व्यवस्था मिलाइएको उनले बताए ।

विराटनगर–झापा हुलाकी मार्गअन्तर्गत रङ्गेली क्षेत्रको करिब साढे ७ किमी सडक सय फिट चौडा निर्माण शुरु भएको छ । यो काम २ वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ । ‘विकासको गति अगाडि बढाएको भन्दै यहाँका स्थानीयले स्वतःस्फूर्त घर भत्काउन शुरु गरेका छन्’ रङ्गेली नगरपालिका प्रमुख बगडियाले भने, ‘नगरपालिकाको पटक–पटकको सूचनालाई अटेर गर्नेको मात्र घर भत्काएका छौं ।’ २०३४ मा विराटनगर, रङ्गेली र भद्रपुरसम्मको सडकलाई सहायक मार्गमा वर्गीकरण गरी उक्त सडकको केन्द्र विन्दुबाट दायाँ–बायाँ १५–१५ मिटर चौडा गर्ने राजपत्रमा प्रकाशित भएको थियो ।

वि.सं. १९७१ मा रङ्गेलीबाट मोरङको सदरमुकाम विराटनगर सारेपछि रङ्गेलीको विकास सुस्ताउँदै आएको थियो । शहरी विकास अन्तर्गतको पूर्व–पश्चिम क्षेत्रको विराटनगरदेखि झापाको भद्रपुरसम्मको करिब ८२ किमी हुलाकी सडक निर्माणका लागि ४ अर्ब ८० करोडको लागतमा विभिन्न खण्डमा ठेक्का प्रक्रिया पूरा भएको छ । विराटनगरदेखि झापाको गौरीगञ्जसम्मको हुलाकी सडक निर्माणका लागि पीएस गजुरमुखी मोतीदान जेभी बानेश्वर, मैनाचुली जेभी भक्तपुर, श्रेष्ठ कन्स्ट्रक्सनलगायत आधा दर्जन बढी कम्पनीले ठेक्का पाएका छन् । ठेक्का पाएका कम्पनीले झापा खण्डको करिब ४० किमी खण्ड निर्माणका लागि १ अर्ब ४२ करोड ८३ लाखमा ठेक्का लिएका छन् । त्यसैगरी मोरङ खण्डको ४२ किमी निर्माणका लागि २ अर्ब ७५ करोड ६८ लाखमा ठेक्का लिएका छन् ।

लामो समयपछि सडक विस्तारको कामले गति लिएपछि सर्वसाधारण उत्साहित देखिएका छन् । रङ्गेली– १ का सुरेशकुमार राजवंशीले हुलाकी सडकको विस्तारले आवत–जावत सजिलो हुने र यसक्षेत्रको बजार व्यवसाय बढ्ने बताए । त्यस्तै स्थानीय पुनम सापकोटाले सडक विस्तारले यसक्षेत्रको मुहार फेरिने बताए ।

रङगेलीक्षेत्रमा ४ दशमलव ९ किलोमिटर एक सय फिट र बाँकी सडक ४० फिट विस्तार हुने सो कन्स्ट्रक्सनका सञ्चालक उज्वल प्रसाईले बताए । तीनवर्षभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि दुई वर्षभित्र रङ्गेली–खण्डको काम सम्पन्न हुने उनको भनाइ छ । काम तीव्र गतिमा भइरहेकाले म्याद अगावै काम सम्पन्न हुने उनको दाबी छ ।

हुलाकी सडक निर्माण आयोजनाका अनुसार हुलाकी सडक विस्तारका लागि विराटनगर महानगरपालिकासहित कटहरी, धनपालथान तथा गौरीगञ्ज गाउँपालिका र सुनवर्षी तथा रतुवा–माई नगरपालिकाले समेत मापदण्डअनुसार सडक खाली गराउन थालेका छन् ।