भण्टाबारी/ सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनीले १९ औं सशस्त्र प्रहरी दिवस मनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनीले बिहीबार एक विशेष कार्यक्रमको आयोजना गर्दै सुनसरीको पकलीमा रहेको मुख्यालयमा १९ औं सशस्त्र प्रहरी दिवस मनाएको हो । २०५७ साल चैत १८ गते पूर्वाञ्चलको मेची, कोशी र सगरमाथामा गरी तीनवटा अञ्चल अन्तर्गतका १६ वटा जिल्ला हेर्ने गरी साविक पकली गाविस हाल इटहरी उपमहानगरपालिका वडानम्बर १७ मा सशस्त्र प्रहरीको स्थापना भएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनीले हाल एक नम्बर प्रदेशका १४ वटा जिल्लाका शान्तिसुरक्षाको जिम्मेवारी बहन गर्दै आएको छ ।
१९ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बाहिनीपति डिआईजी नगेन्द्र थापाले राज्यले सुम्पेको जिम्मेवारी सशस्त्र प्रहरीले निर्वाह गर्दै आएको बताए । सशस्त्र प्रहरीलाई राज्यले सुम्पिएको सीमा सुरक्षा, औद्योगिक सुरक्षा, राजस्व तथा भन्सार गस्ती, राजमार्ग सुरक्षा, भीड तथा दङ्गा व्यवस्थापन, महŒवपूर्ण व्यक्ति तथा प्रतिष्ठानहरूको सुरक्षाका साथै विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले महŒवपूर्ण योगदान दिएको डिआईजी थापाको भनाइ थियो ।
गत पुस २९ गते चीनसँग सीमा जोडिएको सङ्खुवासभा जिल्लाको किमाथाङ्कामा बोर्डर आउट पोष्ट स्थापना गरिएको बताउँदै थापाले निकट भविष्यमा ताप्लेजुङ जिल्लाको ओलाङ्चुङगोलामा समेत बिओपी स्थापना गर्ने योजना रहेको बताए । एक नम्बर प्रदेशमा २४ वटा बिओपी रहेको, इलाममा ३ र झापामा १ वटा बिओपी स्वीकृत भई स्थापना हुने क्रममा रहेको उनले बताए ।
साथै तराईका विभिन्न २० स्थानमा थप बिओपी स्थापना गर्ने लक्ष्य रहेको डिआइजी थापाले बताए । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ का बाहिनीपति थापाको प्रमुख आतिथ्यमा सम्पन्न सशस्त्र प्रहरी दिवसका अवसरमा अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार अर्पण, शोक सलामी र मौन धारण, अमर सशस्त्र प्रहरीका सन्ततीहरूलाई छात्रवृत्ति वितरण, अमर सशस्त्र प्रहरी परिवारलाई सम्मान, अवकाशप्राप्त सशस्त्र प्रहरीहरूलाई प्रशंसा–पत्र वितरण गरिनुका साथै विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
डिआइजी थापाले चालू आर्थिक वर्षको हालसम्म सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मातहतका सशस्त्र प्रहरीले साढे चार करोड बराबरको सामान बरामद गरी आवश्यक कारबाहीको लागि भन्सारमा बुझाएको बताएका छन् । २०७६÷७७ सालको हालसम्म सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली चोरी–पैठारीका ४ करोड ४७ लाख ७८ हजार ६ सय ८१ रुपैयाँ बराबरको सामान बरामद गरेको उनले बताए ।
यसैबीच अवैध चोरी–पैठारी नियन्त्रण गर्नुका साथै ५ महिनाको अवधिमा ८० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको बिओपी हरिपुर भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनीका डिआइजी नगेन्द्र थापाद्वारा प्रशंसा–पत्रसहित सम्मानित भएका छन् । भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्रमा सीमा शान्तिसुरक्षा मजबुत बनाउनुका साथै चोरी–पैठारी नियन्त्रण गरी राजस्व असुलीमा योगदान दिएबापत इन्स्पेक्टर विष्ट सम्मानित भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनीले प्रदेश नम्बर १ का १४ जिल्लाको जिम्मेवारी वहन गर्दै आएको १ नम्बर बाहिनी मातहत ५ गण, १४ गुल्म, २४ वटा बोर्डर आउट पोष्ट र ३९ सुरक्षा बेस रहेका छन् ।
































