बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् ।
झापाको विर्तामोडमा आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा भ्रम सिर्जना गर्न खोजेको बताए ।
उनले भने–‘आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।’
पार्टीले पाएको अवसरलाई सदुपयोग गर्न जनताको जीवनमा प्रत्यक्ष रोजगार, उत्पादन, कृषि र शिक्षामा रुपान्तरण गर्दै विकासलाई गति दिनुपर्ने बताए । जनताको चहाना पुरा नभए जनतामा निराशा हुने र अवसर पनि गुम्ने उनले बताएका छन् ।
पार्टी एकतापछि कम्युनिष्ट सरकार इतिहासकै बलियो सरकार भएकाले यसलाई अवसरको रुपमा लिनुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ । देशमा असाधारण परिवर्तनको शुरुवात भएको बताउँदैं उनले संविधान निर्माण नै कम्युनिष्ट पार्टीकै पहलमा भएको दावी गरे । संविधान बन्न नदिन देश भित्र र बाहिरबाट धेरै कसरत भएपनि जनताको बलले संविधान निर्माण गरेरै छोडेको बताए ।
पूर्व एमाले र पूर्व नेकपा माओवादी विचको एकता विश्वका लागि उदाहरण र शिक्षा भएको भन्दै उनले अब कम्युनिष्टको काँधमा धेरै जिम्मेवारी रहेको धारणा राखेका छन् । बिर्तामोडस्थित अग्रसेनमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले भने – ‘जनताको जीवनमा सुधार ल्याउनु नै अहिलेको मुख्य जिम्मेवारी हो ।
रोजीरोटीकै लागि वैदेशिक रोजगारमा जाने बाध्यतालाई अब हामीले अन्त्य गर्नैपर्छ । ’
कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै उनले देशलाई नयाँ उचाईमा पुर्याउने कम्युनिष्ट सरकारको कामलाई प्रतिक्रियावादीहरुले नियोजित रुपमा बद्नाम गरिरहेको बताएका छन् । उनले सरकारको काम देखेर आत्तिएका, अत्तालिएकाहरु जनतामा भ्रम छरिरहेको जिकिर गरे ।
सरकारबाट असाधारण रुपमा बिकासका काम भइरहेको बताउँदै उनले भने – ‘हामीले गरेका काम जनताको वीचमा पु¥याउन नसक्दा त्यसको फाइदा प्रतिक्रियावादीले लिइरहेका छन् ।’ म तपाई कम्युनिष्ट कार्यकर्तालाई आग्रह गर्दछु , सरकारले गरेका काम जनताको वीचमा पु¥याउनुहोस् ।’