बिर्तामोड/ नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुईतिहाई बहुमतसहितको कम्युनिष्ट नेतृत्वको सरकार ऐन, नियम, विधि र कानून मिच्न उद्यत रहेको आरोप लगाएका छन् ।
नेपाल चिया बगान श्रमिक सङ्घको प्रथम जिल्ला परिषद् भेलामा बोल्दै पूर्व गृहमन्त्रीसमेत रहेका सिटौलाले मौलिक हकमा व्यवस्था भएको जनअधिकार कार्यान्वयन गर्न सरकार असफल भएको आरोप लगाए । बहुमतको दम्भमा सरकार अन्धो भएको टिप्पणी गर्दै नेता सिटौलाले सरकारको एकदलीय तानाशाही सोच बदल्न मजदुरहरूले पुनः एकीकृत भएर आन्दोलन गर्नुको विकल्प नभएको धारणा राखे ।
‘विगतमा पनि मजदुरहरूको एकता र आन्दोलनकै कारण लोकतान्त्रिक शासन व्यवस्था आएको थियो, लोकतन्त्र प्राप्तिपछि बनेको संविधानले मजदुरहरूका अधिकार सुनिश्चित गरेको छ’ नेता सिटौलाले भने, ‘तर, सरकार कानूनले सुनिश्चित गरेका मजदुरका हकअधिकार कार्यान्वयन गरिरहेको छैन, अब अधिकार प्राप्तिका लागि ट्रेड युनियनले विशेष पहल थाल्नैपर्छ, आन्दोलनको विकल्प छैन ।’
‘संविधानले मजदुरको शिक्षा, स्वास्थ्य, आवास, रोजगार, भोजनलगायतका आधारभूत आवश्यकता पूरा गर्ने सुनिश्चितता गरेको छ’–नेता सिटौलाले भने । संविधान जनताका लागि नभएर सत्तामा बस्नेहरूका लागि मात्रै भइरहेको टिप्पणी गर्दै उनले आफूलाई सर्वहारावर्ग र मजदुरका नेता हौं भन्ने प्रधानमन्त्री÷मन्त्रीहरू ४४ दिनसम्म चिया मजदुरले आन्दोलन गर्दैगर्दा कहाँ थिए ? कुनै मन्त्रीले मजदुरका हकहितमा केही बोले ?
उनले चिया बगानका प्रत्येक एकाईमा श्रमिक सङ्घ गठन गरेर स्थानीय, प्रदेश र केन्द्रीय सरकारका गतिविधिबारे छलफल र चेतना अभिवृद्धि गर्ने कार्यक्रम अघि बढाउन समेत मजदुर नेताहरूलाई आग्रह गरेका थिए ।
कार्यक्रममा चिया क्षेत्रका समस्या सञ्चारमार्फत् उठाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कान्तिपुर दैनिकका झापा संवाददाता अर्जुन राजवंशीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, पूर्व सांसद् डिल्ली सिटौलालगायतका अग्रज नेताहरूको सहभागिता रहेको थियो ।
परिषद् भेलामा सङ्घका महासचिव जीवन खड्काले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै श्रम ऐनअनुसार न्यूनतम् ज्याला कार्यान्वयन नभएका चिया बगानहरूमा ज्याला कार्यान्वयन गर्न, महँगी, भ्रष्टाचार, कालोबजारी रोकेर रोजगारीको सिर्जना गर्न तथा श्रमिकलाई पान नं. लिनैपर्ने बाध्यकारी नियम कार्यान्वयन नगर्न सरकारसँग माग गरिएको छ ।