इटहरी । नेकपा इटहरीमा पार्टी एकीकरणको बेलामा न्यायोचित ढङ्गबाट कार्यकर्ताको व्यवस्थापन गर्न नसकेको विषय अहिले छताछुल्ल भएको छ । पार्टीभित्र चाकडीपन हाबी भएको भन्दै उठेको विवाद अहिले तालाबन्दीसम्म पुगेको हो ।
नेकपाको किल्लाको रूपमा रहेको इटहरीमा एकपछि अर्को विवादको कारण लफडा शुरु भएको नेकपा कार्यकर्ताहरूको बुझाइ छ । पूर्वमाओवादी र एमाले एकीकरण हुनुअगाडि नै विवादमा परेको एमाले अहिलेसम्म मिल्न नसक्दा कार्यालयमा तालाबन्दी हुन पुगेको इटहरी नगरकमिटी समायोजन अपारदर्शी र मापदण्डविपरीत गरेकाले माग सुनुवाइ नभएको भन्दै पूर्वएमालेका सुजन लामा र राजेश राईको नेतृत्वमा रहेको समूहले पार्टीको इटहरी नगरकमिटी कार्यालयमा तालाबन्दी गरेको थियो ।
गत भदौ १२ गते लागेको ताला अहिलेसम्म खुल्न नसक्दा पार्टीभित्रको विवाद बढ्दै गएको छ । पार्टीमा इमान्दार, प्रतिबद्ध र क्रियाशील कार्यकर्तालाई पाखा लगाउने काम तत्काल सच्याउन र प्रतिबद्ध कार्यकर्तालाई कमिटीमा समावेश गर्न सूचना टाँसेर ताला लगाइएको नेकपा इटहरीले जनाएको छ ।
पूर्वएमालेका सुजन लामाले पार्टीले आफ्नो निर्णय सच्याउनुपर्ने माग गर्दै तालाबन्दी गरेको बताए । पार्टी एकीकरण गरेर बनेको कमिटी नातावाद र कृपावादको आधारमा बनेको कारण आफूहरूले असन्तुष्टि जनाएको बताए ।
नेकपाका अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला)ले पार्टीको आन्तरिक विवादको कारण समस्या भएको बताए । केही साथीहरूले पार्टीमा असन्तुष्टि जनाउँदै नेकपा इटहरीको कार्यालयमा एक साताअगाडि लगाएको ताला अहिलेसम्म खुल्न नसकेको बताए । उनले भने, ‘पूर्वएमालेसँग समस्या रहेछ, त्यही समस्याले गर्दा तालाबन्दीसम्म भएको हो ।’ ‘अहिलेको एकीकरणमा भन्दा पनि एमालेभित्र केही साथीहरूको बढुवा भएको कारण समस्या देखियो’–उनले थपे ।
यता नेकपा इटहरीका सचिव काशीनाथ दङ्गालले कुनै मागपत्र बिना एक्कासि कार्यालयमा ताला लागेको बताए । आधिकारिक माग बिना नै तालाबन्दी भएको दङ्गाल बताउँछन् । ‘साथीहरूले आधिकारिक मागपत्रसमेत नदिई बन्द गराएको विषयमा हामीले छलफल गर्न अध्यक्ष कमरेडलाई जिम्मा दिएका छौं’ सचिव दङ्गालले भने, ‘कार्यालयमा तालाबन्दी गरेकै दिन सचिवालयको बैठक नेकपा सुनसरीका इञ्चार्ज धर्म निरौलाको प्रमुख आतिथ्यमा बसेको थियो । तर केही सहमति भएन ।’
निरौलासँगै पार्टीको आन्तरिक कुरा मिलाउन सुनसरी सह–इञ्चार्ज तैयव हुसैन, निर्मल बराल, राजकुमार गिरी, द्वारिकलाल चौधरी, रामप्रसाद चौंलागाईंलगायतका शीर्षनेताहरूसँग छलफल गरेको दङ्गालको भनाइ थियो । तालाबन्दीको विषय जिल्ला हुँदै प्रदेश समितिमा समेत उठेको उनको भनाइ थियो ।