भण्टावारी / मुआब्जा माग्दै आन्दोलनरत कोशी पीडितको माग सम्बोधन गर्न नेपाली काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । कोशी ब्यारेजमा अनशनमा रहेका पीडितहरुको अवस्था बुझ्न आएका १ नम्बर प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काङ्ग्रेस सुनसरी सभापति सहितको टोलिले कोशी पीडितको माग सम्बोधन गर्नका पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 
 
१८ दिनदेखि मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै कोशी पीडित अनशनमा रहेपनि सरकारले उनीहरूको माग सम्बोधन गर्नका लागि चासो नदेखाएको प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाले बताए । उनले भने हामीले प्रदेश र प्रतिनिधि सभामा पटकपटक कोशी पीडितको माग बारेमा सरकारको ध्यानाकर्षण गराउदै आएका छौं,तर सरकारले उनीहरूको माग सम्बन्धमा कुनै चासो लिएको छैन । २०११ सालमा नेपाल भारत सरकारबीचमा भएको कोशी सम्झौता कार्यान्वयन गर्दै निमुखा ,गरिब जनताको जायज माग सम्बोधन गर्नका लागि पहल गर्न कोइरालाले आग्रह गरे । कोशी पीडितको जायज मागमा नेपाली काङ्ग्रेस ऐक्यबद्ध रहेको जनाउँदै कोइराला यसपटक माग सम्बोधन नभई उनीहरू सशक्त आन्दोलनको तयारी गरेको दाबी गरे । 
 
तीन पुस्तादेखि पीडितहरु मुआब्जाको पर्खाइमा रहेकोले यथाशीघ्र उनीहरूको माग पुरा गराउन भारत सरकार समक्ष पहल गर्न कोइरालाले नेपाल सरकारको ध्यानाकर्षण गराए । राजीव कोइरालासंगै कोशी पीडितको अवस्था बुझ्न् तथा उनीहरूको मागमा ऐक्यबद्धता जनाउन १ नम्बर प्रदेश नेपाली काङ्ग्रेस प्रदेश सचेतक केदार कार्की, सुनसरी जिल्ला सचिव केदार भण्डारी सहितको टोलि मंगलबार कोशी ब्यारेज पुगेका थिए । १८ दिनदेखि लगातार आफूहरु आन्दोलनमा रहेपनि सरकारको तर्फबाट कोशी पीडितको अवस्था बुझ्न् समेत कोही नआएको अनशनरत स्थानीय रामपृत मण्डलले गुनासो गरे । मुआब्जा माग गर्दै आन्दोलनमा रहेका कोशी पीडितको माग सम्बोधनमा सरकारले बेवास्ता गरेको मण्डलको आरोप छ । नेपाल सरकारले मुआब्जा उपलब्ध गराउन पहल गरे आफूहरूको वर्षौंदेखि पर्खाइ अन्त्य हुने सम्भावना रहेको कोशी संघर्ष समितिका सह संयोजक राजकिशोर मण्डल बताउँछन् ।