दमक/ दमक नगरपालिकाले एक व्यक्ति एक बिरुवा अभियानअन्र्तगत प्रत्येक नागरिकलाई बिरुवा उपहार दिने योजना अघि बढाएको छ । दिनदिनै बिग्रँदो वातावरण संरक्षणमा गर्ने उद्देश्यले नगरपालिकाले दीर्घकालीन रूपमा नै यो योजना अघि बढाउने भएको हो । नगरको वातावरण स्वाच्छ सफा र हराभरा बनाउने उद्देश्यले स्थानीय नागरिकलाई एक नागरिक एक बिरुवा उपहार अभियान सञ्चालन गरेको छ ।
नगर प्रमुख रोमनाथ ओली भन्छन् ‘यो बिरुवा तपाईंका लागि मात्र होइन । सम्पूर्ण दमक नगरपालिकाको वातावरण संरक्षणका लागि हो । तपाईंले यो बिरुवा तपाईंका सन्तानको भविष्यका लागि पनि हो । त्यस कारण अनिवार्य रोपेर हुर्काउनु होला, हामी हेर्न आउनेछौँ । ’ नगर प्रमुख ओलीले दमक १० का बालकृष्ण खनाललाई हातमा बिरुवा उपहार दिँदै भने । उनीजस्तै दमकमा घरखेत हुने सबै नागरिकलाई अनिवार्य वृक्षरोपण गर्न आग्रह गर्दै नगरपालिकाले गुणस्तरीय बिरुवा उत्पादन र वितरण गर्दै आएको छ ।
नगरपालिकाले वडा नं ३ दुम्सेमा ४ कठ्ठा जग्गा भाडामा लिएर नर्सरी सञ्चालन गर्दै आएको छ । नर्सरीबाट चालु आर्थिक वर्षमा मात्र १ लाख १५ हजरा बिरुवा उपहार स्वरूप वितरण गरिरहेको छ । वातावरण संरक्षणमा हामीले ध्यान दिएनौँ भने हाम्रा सन्तानको स्वास्थ्य राम्रो हुन नसक्ने भन्दै नगरपालिकाको वातावरण शाखाले यो अभियानलाई अघि बढाएको दमक नपाको वातावरण शाखाका प्रमुख ज्ञानेन्द्र चौधरी बताउँछन् ।
गत आर्थिक वर्षदेखि नै नर्सरी स्थापना गरी सञ्चालन गरिएको यो कार्यक्रममा नगरपालिकाले ६ लाख रुपैयाँ खर्च गरेको छ । नर्सरीमा वैज्ञानिक वन व्यवस्थापनका लागि मिस्रित जातिका बिरुवा रोप्ने योजना गरिएको छ । नर्सरीमा तराईका प्राकृतिक जङ्गलमा पाइने जामुना, मसला, टीक, टाँकी, अमला जातका रहेका छन् ।
यस्तै जङ्गल लगाउने क्षेत्र नभएका किसानलाई खेतबारी र करेसाबारीमा नै रोप्नका लागि नर्सरीमा फलफूल अन्र्तगत तराईका जिल्लामा हुने मेवा, अनार, आँप, लिची, कटहर, लगायतका बिरुवा उत्पदन गरिएको छ । भने गाइवस्तुलाई घाँसको रूपमा प्रयोग गर्न सकिने इपिलइपिल, टाँकी, लटर लगायतका बिरुवा उत्पादन गरिएको छ । यस्तै फूलबारीमा रोपिने फूलका बिरुवा समेत छन् ।
यसरी सबैखाले बिरुवा उपलब्ध गराउँदा आफ्नो अनुकुल क्षेत्रमा सबैले रोप्न पाउनेछन् । सबै नागरिकले बिरुवा रोपे भने दमक नगर हरियालीपूर्ण बन्छ । दमकमा हरियाली भयो भने यहाँको वातावरण शुद्ध हुन्छ । त्यसैले हामीले प्रत्येक वर्ष यो अभियानलाई निरन्तरता दिनेछाँै, मेयर ओलीले बताए ।
बिग्रँदो वातावरण संरक्षण गर्ने उद्देश्यले झापाको दमक नगरपालिकाले आफ्नै नर्सरी स्थापना गरी निःशुल्क बिरुवा वितरण गर्न थालेको हो । नगरपालिकाले आफ्नै नर्सरीमार्फत् निरोगी बिरुवा वितरण गर्दै आएको छ ।
झापाको दमक बजारलाई ग्रिन सिटीको रूपमा विकास गर्ने योजनाका साथ स्थाई रूपमा नै नर्सरीमा उपलब्ध बिरुवा सबै वडामा २० देखि ३० हजारको दरले वितरण गरिएको छ । वितरण गरिएका बिरुवा टोल विकास संस्थामार्फत् घरघरमा पु¥याउने गरिएको छ ।
सङ्घीय सरकारले घोषणा गरेको एक नागरिक एक बिरुवा अभियानलाई समेत सहयोग पुर्याउने गरी दमक नगरपालिकाले यसलाई प्रभावकारी रूपमा अघि बढाएको छ ।
































