दमक/ पहाडी जिल्लाहरूमा मात्र निर्माण गरिँदै आएको झोलुङ्गेपुलको आकर्षण पछिल्लो समय तराईका जिल्लामा समेत बढ्दै गएको छ ।

छोटो समयमा थोरै बजेटले नै निर्माण गर्न सकिने भएपछि तराईका जिल्लामा समेत झोलुङ्गे पुलप्रतिको आकर्षण बढेको हो । पछिल्लो समय झापा जिल्लामा मात्र २२ वटा झोलुङ्गेपुल निर्माण भइसकेका छन् । चालू आर्थिक वर्षमा मात्र झापाका विभिन्न स्थानमा ४ वटा झोलुङ्गे पुल निर्माणाधीन रहेका छन् । झोलुङ्गे पुल तराईका जिल्लामा समेत प्रभावकारी भएपछि यसको मागसमेत त्यतिकै बढिरहेको छ ।

झोलुङ्गे पुल निर्माण गर्दै आएको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख सिनियर डिभिजन इञ्जिनियर रमेशकुमार श्रेष्ठका अनुसार जिल्लामा ४ वटा पुल निर्माणाधीन रहेका छन् । जिल्लाको भद्रपुर नगरपालिका–२ र ३ लाई जोड्ने देउनिया खोलामा १ सय १९ मिटर लामो पुल निर्माण भइरहेको छ ।

यसको कुल लागत ९६ लाख ४९ हजार २ सय ८३ रुपैयाँ रहेको जनाइएको छ । सोही खोलामा बिर्तामोड नगरपालिका–८ र भद्रपुर नपा–१० जोड्ने देउनिया कल्वलगुडी जोड्ने १ सय १९ मिटर भन्दा लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । यसको लागत १ करोड ५६ हजार रुपैयाँ रहेको छ ।

यस्तै जिल्लाको गौरादह नगरपालिका–१ र कमल गाउँपालिका–१ जोड्ने कृष्णे खोलामा ९६ मिटर लामो पुल निर्माण भइरहेको छ । यसको कुल लागत ८२ लाख ५३ हजार ६ सय १४ रुपैयाँ रहेको जनाइएको छ । यसैगरी झापाको हडिया खोलास्थित बुद्धशान्ति गाउँपालिका–१ मा ९१ मिटर लामो पुल निर्माण सम्पन्न हुनलागेको छ । यसको लागत ६५ लाख ३७ हजार ३ सय ३२ रुपैयाँ रहेको जनाइएको छ ।

धेरै बजेट पनि नचाहिने र निर्माण पनि चाँडै गर्न सकिने भएपछि झापामा झोलुङ्गे पुलप्रतिको आकर्षण बढेको हो । झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारा टुनु बस्तीका ८५ वर्षीय मनोरथ भट्टराई बिहान घरको काम सकेर किनमेल गर्न कमल खोला पारि रहेको कुञ्जिबारी बजार जान थालेका छन् ।

कमल खोलामा झोलुङ्गे पुल निर्माण भएपछि उनलाई किनमेल गर्न १० मिनेटमा नै पुग्ने बजार जान–आउन सहज भएको हो । उनीजस्तै यो क्षेत्रका अधिकांश मानिसलाई पुल निर्माण भएपछि आवत–जावतमा सहज भएको छ । कुञ्जिबारीमा रहेको वडाकार्यालय तथा स्वास्थ्य केन्द्रमा आउन–जानसमेत धेरै सजिलो भएको छ ।

यस्तै जिद्यार्थीलाई समेत पौडी खेलेर खोला तर्नुपर्ने अवस्था थियो । ‘अहिले पुल निर्माण भएपछि हामीलाई विद्यालय आवत–जावतमा सहज भएको छ’ –कक्षा ३ मा अध्ययनरत विद्यार्थी प्रवेश अधिकारीले भने ।

यो क्षेत्रबाट २५ देखि ३० जना विद्यार्थी कुञ्जिबारीमा रहेका निजी तथा सरकारी विद्यालयमा अध्ययन गर्न जाने गरेका छन् । पुल नहुँदा बाढी आएको अवस्थामा खोला वारिपारि आवत–जावत नै ठप्प हुने गरेको थियो ।