फिदिम । पाँचथरमा हालसम्म ८६ हजार जिल्लाबासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार २ जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् ।

सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरबासीको विवरण सङ्कलन गर्ने लक्ष्यका साथ पाँचथरबाट उक्त परिचयपत्रका लागि विवरण सङ्कलन गरेकामा अधिकांश युवा वैदेशिक रोजगारीको सिलसिलामा जिल्लाबाहिर रहनाका साथै अन्य कारणले लक्ष्यभन्दा २४ हजार कम जिल्लाबासीले विवरण दर्ता गराएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको गत आर्थिक वर्ष ०७५/७६ को वार्षिक बुलेटिनअनुसार सो अवधिमा ८३ हजार १०२ को राष्ट्रिय परिचय–पत्र छपाई भएकोे र तीमध्ये ५७ हजार ७ सय ९३ जनाले आफ्नो परिचयपत्र बुझेर लगिसकेका छन् । उक्त परिचयपत्रका लागि जिल्लाका सबै वडामा विवरण सङ्कलन शिविर र राष्ट्रिय परिचयपत्र वितरण शिविर आयोजना गरिएको थियो ।

शिविरमा परिचयपत्र लिन नआएका तथा शिविरपछि विवरण दर्ता गराएकाहरूले समेत परिचयपत्र लगेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र तथा राहदानीको लागि आवेदन गर्ने बित्तिकै सेवाग्राहीलाई राष्ट्रिय परिचय–पत्रका लागि विवरण दर्ता गराउन आग्रह गरिए पनि विवरण दर्ता गराएकाहरू त्यसको उपयोगिता नदेखेर राष्ट्रिय परिचय–पत्र लिनलाई मात्रै नआउने गरेको फिल्ड कार्यालयले जनाएको छ ।

नेपालमै पहिलोपटक गत वर्षको असार ५ गते पाँचथरबाट राष्ट्रिय परिचय–पत्रका लागि विवरण सङ्कलन शुरु भएको थियो । यसरी सङ्कलित विवरणका आधारमा राष्ट्रिय परिचयपत्र छप ाइ भएपछि गत मङ्सिर ३ गतेदेखि वितरण शुरु गरिएको थियो । अहिले उक्त परिचयपत्रका लागि विवरण सङ्कलन तथा तथा वितरणको कार्य सबै प्रदेशका विभिन्न जिल्लामा शुरु भइसकेको छ ।