धनकुटा । बिहीबार रातिको अविरल वर्षाका कारण पहिरो झरेर शुक्रबार बिहानदेखि धरान–धनकुटा सडक अन्तर्गत मूलघाट फेदी सडक–खण्ड बन्द हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।
पहिरोका कारण यातायातका साधन आवागमन बन्द भएको सडक करिब ११ घण्टापछि खुले पनि पहिरो झर्ने क्रम नरोकिएकाले अझै जोखिमको अवस्था छ ।
रातभरको वर्षाले शुक्रबार बिहान गर्जुवा खोलानजिकै कोशी करिडोर हाइटेन्सन लाइनको पोल गाड्न खनिएको कच्ची सडक भत्किएर पहिरो झरेपछि धरान–धनकुटा सडक–खण्ड अन्तर्गत गर्जुवामा राजमार्ग बिहान १० बजेसम्म अवरुद्ध भएको थियो ।
अवरुद्ध राजमार्ग खुलाउन सडक विभाग धनकुटाले डोजर लगाएर शुक्रबार बिहान १० बजे एकतर्फी सडक खुलाए पनि पुनः १२ बजे साँगुरीगढी गाउँपालिका वडा नं.१ लाबरबोटेनजिकैको लेउती खोला सटिएको सडकमा माथिबाट पहिरो झरेपछि आवत–जावत ठप्प भएको थियो । धरान–धनकुटा सडक अवरुद्ध भएसँगै धरानबाट कोशी पहाडी जिल्ला भोजपुर, सङ्खुवासभा, तेह्रथुम र धनकुटाका सयौं सवारी साधनमा यात्रा गरिरहेका हजारौं यात्रु ११ घण्टासम्म बीच सडकमै अलपत्र परेका थिए ।
अवरुद्ध राजमार्ग खुलाउनको लागि अपरान्ह १ बजेदेखि सडक विभागको २ वटा डोजर प्रयोग गरिएको थियो । तर अवरुद्ध सडक डोजरले सफा गरेको करिब ३ घण्टापछि पुनः पहिरो झरेपछि सडक खुलाउन चुनौती थपिएको सडक विभाग कार्यालय धनकुटाका प्रमुख दानबहादुर शाक्यले बताए । उनले भने, ‘पहिरो पन्छाउँदै जाने, माथिबाट पहिरो आउँदै जाने हो भने सडक पन्छाएर सडक खुला गर्न समय लाग्न सक्छ ।’
उनले सडक कार्यालयको तर्फबाट आवश्यक स्रोत साधन जुटाएर सबैखाले जनशक्ति प्रयोग गरी सडक सञ्चालन गर्ने प्रयास गरिएकाले साँझ ५ः ३० बजे अवरुद्ध सडक खुलाउन सफल भएको बताए । उनले वर्षाको कारण अचानक गर्जुवा र लेउतीमा ठूलो पहिरो झरेका कारण आवात–जावत झण्डै दिनभरजस्तो ठप्प भएको बताए ।
राजमार्ग अवरुद्ध हुँदा धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभालगायत पहाडी जिल्लाहरूबाट लामो दूरीको लागि चल्ने सवारी साधनहरू शुक्रबार बिहानदेखि बेलुकीसम्म रोकिएका थिए । शुक्रबार बिहान धनकुटादेखि काठमाडौंको लागि जाने माइक्रोबस, झापा, मोरङ, सुनसरीको धरानसम्म जाने सवारी साधनहरू पनि शुक्रबार दिनभर रोकिएर साँझपखमात्र सञ्चालनमा आएका थिए ।
अवरुद्ध सडक खुले पनि ढुक्क भएर हिँड्ने अवस्था भने नरहेको शाक्यले बताए । पानी परिरहेको छ, पहिरो रोकिएको छैन भन्दै कुनै पनि बेला पहिरो झर्ने भएकाले यात्रामा रहने सबै सवारी चालकहरूलाई होशियारीकासाथ यात्रा गर्न शाक्यले आग्रह गरेका छन् । बिहीबार रातिको वर्षाको कारण सिम्सुवा, मूलघाट, रुद्रबारी, गुठीटार, पात्ले, फोक्ल्याण्ड टापु र जिरोपोइण्ट क्षेत्रका दर्जनौं स्थानमा पहिरो गएको छ ।
पहिरोको कारण शुक्रबार बिहानैदेखि सडकमा आवत–जावत गर्न समस्या उत्पन्न भएको थियो । सडकमा भएको अवरोधलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हटाएको थियो । सडक अवरुद्ध भएको स्थानमा सवारी साधन व्यवस्थापनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अहिले पनि सडकको विभिन्न स्थानमा सानातिना पहिरोले अवरोध सिर्जना गरिरहेको छ भने कतिपय स्थानमा सडक एकतर्फीमात्र सञ्चालन भइरहेको छ ।
पहिरोले रोक्यो लोकसेवाका परीक्षार्थी
धरान–धनकुटा सडक पहिरोका कारण अवरुद्ध हुँदा लोकसेवा आयोगद्वारा शुक्रबार बिहान ८ बजेदेखि सञ्चालन भएको महिला विकास निरीक्षक पदको परीक्षा दिनबाट सयौं परीक्षार्थी बञ्चित भएका छन् ।
सुनसरी र मोरङबाट परीक्षा दिन धनकुटा आउँदै गरेका सयौं परीक्षार्थी सडक अवरुद्ध भएपछि लेउतीफेदी–लाबरबोटे सडक–खण्डमा शुक्रबार दिनभर बसेका थिए भने कतिपय त्यहीँबाटै घर फर्किएका थिए ।
त्यसैगरी शनिबार बिहान भएको सहायक महिला विकास अधिकृत पदको परीक्षा दिनबाट पनि धेरै परीक्षार्थी बञ्चित भएका छन् ।
































