इनरुवा/ कोशी गाउँपालिका आसपासका बासिन्दाका लागि हात्ती आतङ्क कुनै नौलो घटना भने होइन ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीले बितण्डा मच्चाउँदा सो भेगका बासिन्दाले लगातारजसो सास्ती खेप्दै आउनु परेको छ । पछिल्लो पटक बुधबार राती आरक्षबाट निस्केर गाउँ पसेको जङ्गली हात्तीको हुलले कोशी गाउँपालिका वडा नम्बर ८ रेलवे टोलमा ११ वटा घर भत्काएको छ ।

रातीको समयमा बस्तीमा छिरेका हात्तीले घर भत्काउन थालेपछि टोलमा भागाभाग भएको थियो । हात्तीको आक्रमणबाट स्थानीयहरू बच्न सफल भए पनि उनीहरूले क्षति रोक्न भने सकेनन् । हात्तीले रेलवे टोलका सफिद मिया, फुलेश्वर शर्मा, याकुब मिया, सदिक मिया, इब्राहिम मिया, अजिज मिया, हफिज मिया, मौलिम मिया, नईम मिया, सकिल मिया र सबिला खातुनको घरमा क्षति पुर्याएको छ ।

हात्ती गाउँ पसेपछि नजिकै रहेको नेपाली सेनालाई खबर गरे पनि हात्ती धपाउन तत्काल कुनै पहल नगरिएको पीडितहरूले गुनासो गरेका छन् । आरक्ष कार्यालयमा खबर पुगेपछि पुगेको कर्मचारी टोली सहित नेपाल प्रहरी सहितको उपस्थितिमा गाउँले र सुरक्षाकर्मी मिलेर हात्ती धपाइएको मौलिम मियाले बताए । हात्तीले घर भत्काएपछि पीडित परिवार सहित स्थानीयले भाण्टाबारी सडक खण्ड केहीबेर अवरुद्ध पारे । गाउँपालिका, प्रशासन र आरक्षसँग वार्ता गर्ने सहमतिपश्चात् स्थानीयले अवरोध खुलाएका छन् ।

हात्ती आतङ्कबाट मुक्ति पाउनु पर्ने माग गरेका स्थानीयहरूले सहज जीवनयापनको वातावरण मिलाइदिन नेपाल सरकार समक्ष आग्रह गरेका छन् । हात्तीले घरमा क्षति पु¥याएपछि आरक्ष कार्यलयले १० हजार र गाउँपालिकाको तर्फबाट ५ हजार गरी जम्मा १५ हजार पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइन्छ ।

उक्त रकमले जीर्ण घर मर्मत गर्न समेत नपुग्ने बताउने सबिला खातुन क्षतिपूर्ति वापतको रकमले आफूजस्ता पीडितका लागि छोप पनि नहुने बताउँछिन् । उनी भन्छिन् “ज्यानको बाजी थापेर बस्नुपरेको छ । अन्त गएर बसौँ सकिँदैन । यहाँ हात्तीले अन्नपात खाइदिन्छ, घरै भत्काउँछ । कहाँ जाने ? के खाने ? अनि कहाँ बस्ने ? सरकारले यस तर्फ ध्यान देओे्स । हात्ती नियन्त्रणका लागि विशेष पहल गरियोस् ।”