इनरुवा/ अनियमितताको आरोप लगाइएपछि नेकपा इनरुवा नगरकमिटीले नेपाली काङ्ग्रेसलाई आरोप सार्वजनिक गरी देखाउन चुनौती दिएको छ ।
खर्च सार्वजनिकको विषयलाई लिएर दुवै पार्टी एक–अर्काप्रति जाइलाग्दा नगरभित्र पार्टीगत बहस छेडिन पुगेको छ । स्वयम् नगरप्रमुख संसदीय दलको नेता रहेको नेपाली काङ्ग्रेस नगर कार्य समितिले नेकपाका वडाको हिसाब केलाउन समिति गठन गरेको विषयलाई लिएर पत्रकार सम्मेलन आयोजना गरेको नेकपा इनरुवा नगर कमिटीले काङ्ग्रेसलाई अनियमितता प्रमाणित गरी देखाउन खुल्ला चुनौती दिएको हो ।
पछिल्लो घटनाक्रमलाई नेकपाले नगरप्रमुखको हतास मनस्थितिको पराकाष्ठाको संज्ञा दिएको छ । बन्दै गरेको सहमति भाँड्ने गरी भएका प्रयासले स्वयं नगर प्रमुखलाई आघात पु¥याउने बताएको नेकपा इनरुवा नगरकमिटीले नियोजित रूपमा नेकपाका वडाहरूमा व्यापक भ्रष्टाचार भएको भनिनुलाई गम्भीररूपमा लिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नगरअध्यक्ष तीर्थराज अधिकारीले आरोप प्रमाणित नगरिए आफूहरू पार्टीगत निर्णयबमोजिम अघि बढ्ने बताए । पत्रकार सम्मेलनमा नगरपालिकाले गरेका अनियमित खर्च विवरणसमेत सार्वजनिक गरिएको थियो ।
मेयरको ठाडो आदेशमा भएका खर्चसहित एउटै शीर्षकमा लाखौं रकम सिध्याइएको र मेयरको व्यक्तिगत स्वार्थका कारण इनरुवा खानेपानीकालागि नगर परिषद्बाट छुट्याइएको १६ लाख रकम नदिई शतप्रतिशत रकमान्तर गरी अन्य शीर्षकमा खर्च गरिएका जस्ता विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।
पत्रकार सम्मेलनमा नेकपा इनरुवाका संसदीय दलका नेता कालुराम गुरुङले नगरमा बन्दै गरेको सहमति भाँडिने अवस्थामा पुगेकाले साउन १० गतेका लागि डाकिएको नगरसभामा नेकपाका जनप्रतिनिधि सहभागी नहुने बताए ।
पार्टीले समेत उपस्थित नहुन भनेकाले आफूहरू नगरसभामा सहभागी नहुने गुरुङले बताएका हुन् । गुरुङले नगरप्रमुखकै कारण नगरसभाको अन्यौलता थप लम्बिने सम्भावना बढाएकाले त्यसो भए सम्पूर्ण जिम्मेवारी स्वयम् नगर प्रमुखकै हुने बताए ।