काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला हत्याकाण्डलाई राजनीतिक रङ दिन खोजिएको बताएका छन् ।
मन्त्रालयमा आज आयोजित अन्तक्र्रियामा गृहमन्त्री थापाले अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्ने बताए । उनले भने, ‘नागरिक समाज, मिडियाले सबै मिलेर अपराधीलाई कानुनी कठघरमा ल्याउनुपर्छ ।’ गृहमन्त्री थापाले अपराधी बचाउन खोजेको भनेर आरोपमात्र लगाइएको बताए । थापाले भने, ‘त्यसमा हामीलाई दुःख छ ।’
गृहमन्त्री थापाले बलात्कारका घटनाको अनुसन्धानमा प्रहरी ९५ प्रतिशत सफल भएको दाबी गरे । घटनाको अनुसन्धान जारी रहेको बताउँदै थापाले निर्मला हत्याकाण्ड जघन्य अपराध भएको बताए । हत्याकाण्डबारे विभिन्न समितिले दिएका प्रतिवेदन अध्ययन गर्दै अगाडि बढ्ने थापाको भनाइ थियो । गृहमन्त्री थापाले भने, ‘निर्मला प्रकरण पहिलो र नयाँ होइन, भोलि पनि यस्तो घटना हुन सक्छ, पूर्ण नियन्त्रण गर्न सकिँँदैन ।’