धनकुटा/ १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सरकारले यस आर्थिक वर्षमा पूर्वाधार विकासमा ४५ प्रतिशत बजेट विनियोजन गरेको बताएका छन् ।
धनकुटा नगरपालिका वडा नंं.९ बेलहारास्थित गुठीटार–बाघखोर–छिडी ग्रामीण सडकको कालोपत्रे गर्ने निर्माण कार्यको शिलान्यास गर्र्दै मन्त्री आङ्वोले यस्तो बताएका हुन् । प्रदेश सरकारले पूर्वाधार विकासबाहेक प्रदेशमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकाले कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेको बताए ।
देशको कुल जनसङ्ख्याको दुईतिहाइ कृषिमा निर्भर रहेको भए पनि आफैलाई खाने पनि उत्पादन गर्न नसकेको बताउँदै मन्त्री आङ्वोले कृषिमा आधुनिकीकरण र व्यवसायीकरणको खाँचो रहेको औंल्याए । उनले सङ्घीयता कार्यान्वयन गर्न तीनै तहको सरकार एकताबद्ध हुनुपर्ने बताउँदै एउटा सरकार असफल भए संविधान र सङ्घीयता असफल हुने बताए ।
मन्त्री आङ्वोले दुईतिहाइको सरकारले काम गर्न नसकेको गुनासा आइरहे पनि एकै रातमा दुईतिहाइको सरकारले काम गर्न नसक्ने बताए । उनले ठूला योजनाका काम सङ्घीय सरकारले, मझौला योजनाका काम प्रदेश सरकारले र साना तथा जनतासँग सरोकार राख्ने काम स्थानीय सरकारले गरिरहेको दाबी गरे ।
एक अर्को प्रसङ्गमा मन्त्री आङ्वोले प्रदेशको राजधानी धनकुटा बनाउने चाहना हुँदाहुँदै पनि बनाउन नसकेकोले धनकुटालाई जीवन्त राख्न मुख्यमन्त्रीको सम्पर्क कार्यालयदेखि विभिन्न प्रदेशस्तरीय कार्यालय धनकुटामा स्थापना गरिएको बताए । उनले धनकुटामा मेडिकल कलेज स्थापना गर्न साढे १६ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय भोजपुरको २१ करोड ७३ लाख ७९ हजार ४ सय २३ रुपैयाँ ५१ पैसाको लागतमा सडक कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रेको ठेक्का रमण दिव्यज्योति रोजन जेभी काठमाडौंले पारेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज केडीले सो अवसरमा जानकारी दिए ।
उनका अनुसार सडक कालोपत्रेको काम दुई वर्षभित्र सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ । सडक शिलान्यास सत्रमा प्रदेश सांसद् इन्द्रमणि पराजुली, निरेन राई, कुसुमकुमारी जुली, विना देवी राई, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टङ्क चुहान, प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीलगायतको उपस्थिति रहेको थियो ।