विराटनगर/ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनियर्सहरूले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल इञ्जिनियर्स एसोसिएसन प्रदेश नं. १ ले शुक्रबार साँझ विराटनगरमा आयोजित ५७ औं इञ्जिनियर्स दिवसको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

उनले प्रदेशले विकासका लागि पूर्वाधारमा विकासमा ठूलो बजेट रकम छुट्याएकोले नमूना प्रदेश बनाउन सरकारसँग हातेमालो गर्न मुख्यमन्त्री राईले आग्रह पनि गरे ।

उनले अमेरिका भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरूलाई विश्वको नवीनतम् प्रविधि नेपालमा भिœयाउन आह्वान गरेको जानकारी दिँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले चाँडै नै विज्ञ सम्मेलनको आयोजना गरी ठोस योजना बनाएपश्चात् लगानी सम्मेलनको आयोजना गर्ने बताए ।

कार्यक्रममा प्रदेश सदस्य जयराम यादवले इञ्जिनियरले दैवीप्रकोपलाई ध्यानमा राखी विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिए । यस्तै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरमा छात्रावाससहितको एउटा प्राविधिक विद्यालय सञ्चालन गर्ने जानकारी दिँदै गुणस्तरीय कार्यबाट सुशासन कायम हुने बताए ।

एसोसिएसनका प्रदेश अध्यक्ष यशवन्तविक्रम साह, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानका प्रमुख ओमप्रकाश ढकाल, पूर्व केन्द्रीय अध्यक्ष ध्रुव थापा, मनोज घिमिरेले इञ्जिनियर पूर्वाधार विकासका मेरुदण्ड भएको बताए । नेपालमा ५२ हजार इञ्जिनियर दर्ता रहेकोमा हाल स्वदेशमा ३६ हजार कार्यरत रहेका छन् ।