पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेमा भेला भएका प्रदेश नम्बर १ का मूर्तिकार तथा चित्रकारहरूले गाउँ बस्तीमा लुकेर रहेका प्रतिभाहरूको उजागर गर्ने हिसाबले कार्यक्रम आउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभागले आइतबार आयोजना गरेको प्रदेश नम्बर १ स्तरीय मूर्तिकला र चित्रकला कार्य तर्जुमा अन्तरक्रियात्मक गोष्ठीका सहभागीले सिर्जनाको विकास र प्रवद्र्धनमा प्रतिष्ठानमार्फत् सरकारले विशेष योजना ल्याउनु पर्नेमा जोड दिए । सहभागीले मूर्तिकार चित्रकारको बिमा, मूर्तिकला चित्रकला कलेजको स्थापना, मूर्तिमा कर लाग्न नहुने कुरा उठाएका छन् ।

एभरेष्ट आर्ट फ्युजनको व्यवस्थापनमा आयोजित कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले यसखाले सिर्जनात्मक कार्यका लागि सहयोग गर्न नगरपालिका तयार रहेको धारणा राखेका छन् ।

नेपाल साँस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी र राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित स्वयम्प्रकाश श्रेष्ठ, वरिष्ठ चित्रकार जीवराज पोखरेल ‘पन्छी’ विक्रमश्रि, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सदस्य सरोजा खड्गीसहितले प्रदेशका गाउँ–गाउँमा यसखाले कार्यक्रम हुनुपर्नेमा जोड दिए ।

मूर्तिकला र चित्रकला क्षेत्रका समस्या दर्शाउँदै गाउँमा लुकेर रहेका प्रतिभालाई अगाडि बढाउनेखाले योजना बनाएर जानुपर्ने सहभागीको सुझाव थियो ।

सहभागीले प्राज्ञ सरोजा खड्गीसहित पथरीशनिश्चरेका सिर्जना क्षेत्रमा सक्रिय युवाहरूले नगरलाई सिर्जनाको क्षेत्रमा प्रदेशमा अगाडि बढाएको प्रसङ्ग ल्याउँदै खुशी व्यक्त गरेका थिए । मूर्तिकला प्रमुख लालकाजी लामाको अध्यक्षता रहेको कार्यक्रममा प्रदेशका १ सय ५० जना मूर्तिकार चित्रकारको सहभागिता रहेको थियो ।