विराटनगर/ घटना १ः माल्दिभ्स पठाउने नाममा सङ्खुवासभाको चैनपुर नगरपालिका ३ का सन्तोष विश्वकर्मासँग दलाल धनकुटा महालक्ष्मी नगरपालिका–७ का बाबुराम कुँवरले तीन लाख रुपैयाँ ठगे । हाल कुँवर सम्पर्कविहीन छन् ।
 
घटना २ः आकर्षक तलबको प्रलोभनमा पारेर धनकुटाका देवन्द्र र मानबहादुर कार्कीलाई पनि कुँवरले नै ३ लाख रुपैयाँ ठगी गरे । नाताले दाजुभाइ कार्कीलाई ‘अरमेनिया’ पठाउने भन्दै जनही १ लाख ५० रुपैयाँ दरले तीन लाख रुपैयाँ लिए । नक्कली कागजात देखाएर ठगी गरेका कुँवर हाल वेपत्ता छन् । 
 
घटना ३ः एक साताभित्र दुबई पठाउने भन्दै उर्लाबारी–१ भुवन मोते र प्रेमबहादुर दर्जीलाई झापा चारघरेका कुमार सेढाइँले जनही ५० हजार गरी १ लाख रुपैयाँ लिए । चिनजानका आधारमा विश्वासमा परेका उनीहरूको पैसासँगै राहादानी लिएर सेढाँइ सम्पर्कविहीन छन् । 
 
यी माथिका घटना वैदेशिक रोजगारको नाममा दलालको फन्दामा परेको प्रतिनिधिमूलक घटना हुन् । वैदेशिक रोजगारीबाट कमाएको रकमले सुनौलो भविष्य बनाउने र जीविकोपार्जन गर्ने उद्देश्यले सजिलैसँग दलाललाई पैसा सुम्पिदा ठगिएको घटना बढेको छ । ठगी गर्ने दलालले पैसा नदिएपछि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा अहिले दैनिकजसो ठगीको उजुरी आउने गरेको छ ।
 
बुधबार श्रम तथा रोजगार कार्यालयमा एउटै व्यक्तिको नाममा तीन जनाले विदेश पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको भन्दै उजुरी दर्ता गराएका छन् । ठगिएका उनीहरूले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका हुन् । 
 
सैकडा २ रुपैयाँको दरले ऋण काँढेर ल्याएको रकम दलालले खाएपछि सन्तोषलाई आजकाल निद्रा पर्न छाडेको छ । सन्तोषले ब्लाष्टलाई भने, ‘दलालको फन्दामा परे । ऋण काँढेर ल्याएको पैसाको ब्याजमात्र मासिक ३ हजार रुपैयाँ हुन्छ । अब यत्रो पैसा कहाँबाट ल्याएर तिर्नु ? ।’ देवेन्द्र र मानबहादुरको समस्या पनि उनको जस्तै छ । विदेश जाने निधो गरेर कुँवरले ३ लाख रुपैयाँ ठगेपछि बिल्लीबाठ भएको मानबहादुरले बताए ।
 
वैदेशिक रोजगारको बाहानामा दलाल र म्यानपावरबाट युवाहरू ठगिने गरेका उजुरी एक सातामा दर्जनभन्दा बढी आएको श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । उनका अनुसार पछिल्लो समय दैनिक सरदर २ देखि पाँच जनासम्म वैदेशिक रोजगारमा पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगिएको प्रमाणसहित उजुरी लिएर आउने गरेका छन् । उनले भने, ‘आएको उजुरीको दर्ता गरी छानविन गर्ने र दोषीलाई कारवाहीको दायरमा ल्याउनेछौं ।’