सिरहा । सिरहा जिल्ला मिर्चैया नगरपालिकाले आवश्यक बजेट नदिएपछि मिर्चैया नगरपालिका वडा नम्बर १ का स्थानीयहरुले आफै विकासका काममा जुटेका छन् । नगरपालिकाले राजनीतिक प्रतिशोधका कारण बजेटमा भेदभाव गरेको भन्दै मिर्चैया नगरपालिका वडा नम्बर १ कमीयाटोलका स्थानियहरुले चन्दा उठाएर सडकमा रहेका खाल्डोखुल्डी रहेका सबै ठाउँमा खाल्डोखुल्डी भरेका थिए ।
विकास निर्माणका काममा आफूहरुलाई राजनीतिक हिसावले देखेको र आवश्यक बजेट नगरपालिका र वडाले नदिएपछि आफुहरुले चन्दा उठाएर बिकासमा जुटेको स्थानिय बिजय यादबले बताए । स्थानीय तहमा जनप्रतिनिधि आएको २ वर्ष हुन लाग्दा पनि यस टोलमा अहिलेसम्म नगरपालिकाले कुनै किसिमको विकासका काम नगरेको स्थानियबासी समेत रहेका तरुण दलका सिरहा क्षेत्र नम्बर ४ का सभापति धनेश्वर यादवले आरोप लगाए ।
नगरपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ मा १ लाख २५ हजार रुपैयाँ मात्र छुट्याइएपछि विकासका लागि प्रयाप्त रकम नभएको भन्दै रकम लिन अस्विकार गरेको उनले बताए । कम रकमले कुनैपनि काम पूर्ण रुपले हुन नसक्ने देखिएपछि बजेट अस्विकार गरेको सभापति यादवले बताए । टोलमा अधुरो अबस्थामा रहेको सामुदायिक भवनको निर्माणका लागि पटक–पटक भनेपनि नगरपालिकाले चासो नदिएको उनले आरोप लगाए । चालु आर्थिक वर्षको बजेटबारे आफूहरुलाई हालसम्म जानकारी समेत नभएको स्थानिय मंगला कापरको भनाई छ ।
साबिक रामपुरविर्ता गाविस वडा ३ मा पर्ने कमियाटोल सहित गाविस अन्तर्गत रहेका ९ वटा वडालाई मिर्चैया नगरपालिकाको वडा १ मा गाभिएको हो । विकास निर्माणको कामका लागि आएको बजेटलाई ९ भाग गरी हरेक टोललाई समान रुपले दिनुपर्नेमा त्यसो नभई भेदभाव तवरले यस टोलमा बजेट दिएको उनीहरुको आरोप छ । जनप्रतिनिधि आएपनि हालसम्म अनुभूति हुन नसकेको स्थानीय रामकृपाल साहले बताए ।
यता, मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले कुनै टोल वा बडालाई भेदभाव नगरेको दाबी गरेका छन् । बडाका आवश्यक्ता अनुसार बजेट छुट्याईएको भन्दै उनले उक्त टोलमा बिकासको आवश्यकता देखिए तत्कालै गर्ने प्रतिक्रिया दिएका छन् । कानुनमा प्रावधान पनि आवश्यक्ता अनुसार बजेट बिनियोजन गर्नुपर्ने रहेकोले प्रत्येक टोलमा बराबर बजेट दिन नसक्ने उनले स्पष्ट गरे । तर, स्थानिय जनताको माँग बमोजिम बिकास गर्न आफु पछाडी नपर्ने मेयर यादबले दाबी गरे । उक्त टोलमा सयभन्दा बढी घरपरिवारको बसोवास रहेका छन् ।
































