धरान । धरान–८ का चालक छत्रबहादुर गुरूङ निधन हुने गरी भएको दुर्घटनाको मुख्य कारण ‘ब्रेक फेल’ भएको खुलेको छ ।

ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बसलाई जोगाउन निकै प्रयास गरिए पनि धरान–१३ जिरोपोइन्टमा दुर्घटनाग्रस्त हुन पुगेको बसमा सवार घाइते यात्रुहरूले जनाएका छन् । सोमबार अपरान्ह भएको दुर्घटनामा ४ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा धनकुटा चौबीसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र ८ वर्षीया बालिका डेनी मगर रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । घाइते हुनेको संख्या ३९ पुगेको छ । बस धनकुटाको ६ नम्बर बुधबारेबाट आउँदै गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बस पूर्वाञ्चल यातायात व्यवसायी संघमा अावद्ध छ ।