इटहरी/ जोगवनी–किमाथाङ्का जोड्ने ६ लेन सडकको निर्माण कार्य धमाधम भइरहेको छ । तर सडक निर्माणका क्रममा लापरबाही गरिँदा सुनसरीको खनारक्षेत्रमा एकै वर्षमा ८ जना घाइते भएका छन् ।

खनारमा निर्माण भइरहेको सडकको ड्रेनमा लडेर चैत २१ गते पूर्वराष्ट्रिय गोलरक्षक शम्भु बास्तोला गम्भीर घाइते भए । उनको अहिले विराटनगरको नोवेल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । खनारकै स्थानीय अभद सरदार पनि गत दशैंमा ड्रेनको खाल्डोमा झरे । सख्त घाइते भएका उनलाई उपचारका लागि भारतको सिलिगुडी पु¥याउनु प¥यो । उपचारमा उनको लाखौं खर्च भयो । तर उनलाई न ठेकेदारले क्षतिपूर्ति दियो, न सरकारले ।

बास्तोला र सरदारजस्तै सडकको ड्रेनमा लडेर एक वर्षमा ८ जना घाइते भइसकेका छन् । तर निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सुरक्षाको व्यवस्था नगर्दा सर्वसाधारणको ज्यान खतरामा परिरहेको छ । ड्रेनमा को कतिबेला खस्छ पत्तो छैन । डेढ महिनाअघि उमेश शाह आफ्नै खाजा पसलअगाडि ड्रेनमा खसे । तीन महिनाअगाडि बिजु सरदार डे«नमै लडेर घाइते भए । एक महिनाअगाडि खनारकै सोमनाथ चौधरी पनि ड्रेनको खाल्डोमा खसे । मधेलीका विकास विक पनि खाल्डोमा लडेर घाइते भए । जिरिया सरदार, विशाल चौधरी पनि ड्रेनमै लडे । सडक निर्माणको ठेक्का पाएको टुण्डीरमण जेभी निर्माण कम्पनीले खनारको शारदा माविदेखि मुख्यचौकसम्म ड्रेन निर्माण गरेको २ वर्ष बितिसक्दा पनि ड्रेनमाथि स्ल्याव नराख्दा सर्वसाधारण लडेर घाइते हुने गरेका छन् । बीचमै अपूरो निर्माण गरी छाडिएका ड्रेनहरू पैदल यात्रुका लागि अहिले धराप बनिरहेका छन् ।

सडक निर्माणका क्रममा अलपत्र छाडिएका ड्रेनमा परेर सर्वसाधारण धमाधम घाइते हुन थालेपछि इटहरी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष हेमानन्द दाहालले सडक निर्माण आयोजनाको कार्यालयमै पुगेर समस्या सुनाए । तर आयोजनाले कुरा नसुनेको उनको गुनासो छ । उनी भन्छन्, ‘निर्माण कम्पनीको लापरबाहीले सर्वसाधारणले धेरै दुःख पाए । हामीले बारम्बार ड्रेनको समस्याबारे आयोजना कार्यालयलाई जानकारी गराए पनि अहिलेसम्म केही गरेन ।’ सडक आयोजनाका इञ्जिनियर उपेन्द्र दासले स्ल्याव नराख्दा समस्या भएको स्वीकार गरे । ड्रेनको समस्या लामो समयदेखि रहेको र यसको चाँडै समाधान हुने उनले बताए । ‘सर्वसाधारणहरू लडेको सूचना आएको छ’ उनले भने, ‘ठेकेदार कम्पनीसँग कुरा गरेर चाँडै काम सक्ने निर्देशन दिन्छु ।’

डम्पिङ साइड बन्दै ड्रेन
लामो समयदेखि सञ्चालनमा आएका सडकछेउका ड्रेनमा स्ल्याव नराखिँदा बाहिरबाट फ्याँकिएको फोहोर भरिएर दुर्गन्धित भएको छ । ड्रेनको दुर्गन्धले सडक छेउबाट आवत–जावत गर्नेहरू र स्थानीयको स्वास्थ्यमा पनि जोखिम उत्पन्न भएको छ । गर्मी मौसम शुरु भएसँगै दुर्गन्धित ड्रेनका कारण रोग फैलिने त्रास पनि उत्तिकै बढेको छ ।

ड्रेन गहिरो र फोहोर भएका कारण त्यहाँ अकस्मात केही वस्तु झरेमा निकाल्न सकिने अवस्था नरहेको स्थानीयको भनाइ छ । यसबारे पटक–पटक सरोकारवालालाई जानकारी गराउँदा पनि पहल नगरेको उनीहरूको गुनासो छ । स्थानीयले ड्रेनमाथि स्ल्याव हालिदिन ठेकेदारलाई अनुरोध गर्दा बेवास्ता गर्ने गरेको खनारका स्थानीय सन्तोष यादव बताउँछन् ।