विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पूर्णिमा (होली) पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बुधबार मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् । मुख्यमन्त्री राईले जारी शुभकामना सन्देशमा भनिएको छ, ‘असत्यमाथि सत्यको विजयको रूपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो, रङ्गको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने मैले विश्वास लिएको छु ।’

हाम्रा चाडपर्वहरूले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउँदै एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संर्वद्धन गर्न अभिप्रेरित गरिरहेको सन्देशमा उल्लेख छ । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रूपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीहरूले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरूमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने गरेको मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ ।

यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने मैले ठानेको छु सन्देशमा उल्लेख गर्दे मुख्यमन्त्री राईले भनेका छन् । मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा संर्वद्धन गर्दै समृद्धितर्फको यात्रामा अगाडि बढ्नु हामी सबैको दायित्व हो ।

यस पर्वले सबै नेपालीमा खुशीका रंगहरू छर्दै नयाँ उत्साह र उमंगका साथ सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै प्रदेशको विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने उत्प्रेरणा हामी सबैमा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।