धरान/ गायक पशुपति शर्माले केही समयअघि गाएको एउटा गीतले नेपालमा हलचल ल्यायो । पशुपतिको त्यो गीतले भनेको थियो :
लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरु देशमा पाइँदैन नेपालमै हो छु ।
 
पशुपतिको गीत सार्वजनिक हुने बित्तिकै सत्तारुढ नेकपाको भातृ सङ्गठन युवा सङ्घ नेपालले आपत्ति जनाउँदै पशुपतिका कार्यक्रम देशभर बहिष्कार गर्न आफ्ना कार्यकर्तालाई सचेत गरायो । त्यसपछि यसले राजनीतिक रूप लियो । सडकमा नारा लाग्यो, संसद्मा कुरा उठ्यो ।
 
पशुपतिको गीतको बहस सेलाएको बेला बिहीबार नेकपाका कार्यकर्ताले त्यो गीतलाई च्यालेञ्ज दिँदै अर्को गीत गाए । नेकपा कार्यालय अर्थात् साविक माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा बिहीबार आयोजित ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम’ मा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू मञ्चमा थिए । गायकले यस्तो गीत गाए :
लुट्नु हुन्न देश कान्छा, लुट्नु हुन्न देश
देश लुटी खाको पैसा हुन्न कहिले बेस
आफ्नै देश लुटेसी के रह्यो र शान
 
पशुपतिले आफ्नो गीतमा शिक्षा, स्वास्थ्य, प्रशासनमा बढ्दो विकृतिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका थिए । नेकपाको कार्यक्रममा गाइएको गीतमा चाहिँ देश लुट्नेको मुखमा कीरा परोस् भन्ने श्राप पनि दिइएको छ । 
देश लुटी खानेको त मुखमा कीरा परोस्
यति भन्दा नसुन्नेको कानै चिरा परोस्