धरान । बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ४२ औं सिनेट बैठकबाट पदबाट हटाउने सिफारिस भएसँगै उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई सरकारले पदमुक्त गरेको छ ।

प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २६ गते नै पदमुक्त गर्ने निर्णय गरेकाे हाे । यसअघि फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको ४२ औं सञ्चालक समिति (सिनेट) बैठकले उकपकुलपति प्रा.डा. रौनियारलाई हटाउने निर्णयसहितको सिफारिस कुलपति तथा प्रधानमन्त्रीलाइ गरेकाे थियाे । 

सोही सिफारिसका आधारमा कुलपति ओलीले पदमुक्त गरेका हुन् । प्रतिष्ठानमा भएको भ्रष्टाचार र मन्त्रीहरूको निर्देशनलाई लत्याएपछि उनलाई हटाउने निर्णय गरिएको थियो । सिनेट बैठकको निर्णय कार्यान्वयनका लागि सहकुलपतिले प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने प्रावधान छ । सोही आधारमा निर्णय गरिने प्रचलन रहेको छ ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरासियाले सिनेट बैठकले गरेको सिफारिस अनुसार फागुन २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने निर्णय गरेको बताए । उनका अनुसार पदमुक्त गरेको निर्णयको जानकारी स्वास्थ्य मन्त्रालयलाई बिहीबार मात्रै जानकारी भएको छ । ‘अब आजभोली उपकुलपति राजकुमार रौनियारलाई पत्राचार गरेर जानकारी गराउने छौं ।’ उनले फोन सम्पर्कमा भने, ‘त्यसका लागि पत्र बन्दै छ ।’

यस विषयमा प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठलाई बुझ्दा निर्णय भएको भए पनि चिठ्ठी हातमा नपरेको जानकारी दिए । ‘निर्णय भएको भन्ने सुनेको हो । चिठ्ठी आएको छैन ।’ प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले भने । यता प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियार अाफूलाइ जानकारी नभएको बताए । उनले आफूलाई सिनेटमा पनि बस्न नदिई एकलौटी ढङ्गबाट सिफारिस गरिएको आरोप लगाए ।