विराटनगर/ मोरङको १७ वटा स्थानीय तहमध्ये १६ वटा स्थानीय तहमा नेकपाले एकता प्रक्रियालाई अन्तिम रूप दिएको छ ।
विराटनगर महानगर भने सहमतिको विन्दुमा पुग्न सकेको छैन । दुई पार्टी एकताका लागि गठित कार्यदलले विराटनगर महानगरबाहेको अन्य स्थानीय तहको एकता प्रक्रिया टुङ्ग्याएको हो । एमालेले ९ वटा तह र माओवादीले ७ वटा तहको नेतृत्व गर्ने सहमति बनेको छ ।
विराटनगर महानगरको विषयमा भने केन्द्र र प्रदेशसँगको समन्वयमा टुङ्गोमा पु¥याइने भएको छ । स्थानीय तहसम्म पार्टी एकता नहुँदा पार्टीको काम कारवाहीहरू अत्यन्त सुस्त र जनसम्बन्धमा समेत असर पुगेको निश्कर्ष निकाल्दै कार्यकर्ताले एकता प्रक्रिया टुङ्ग्याउन दबाव दिँदै आएका थिए । पछिल्लो चार दिनदेखि नेकपा मोरङका प्रमुख नेताहरूसहित कार्यदलका सदस्यहरू सहमतिका लागि छलफलमा सक्रिय थिए ।
कार्यदलले पूर्व नेकपा एमालेले सुन्दरहरैंचा नगरपालिका, पथरी नगरपालिका, उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका र सुनवर्सी नगरपालिका तथा कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकाको नेतृत्व गर्ने भएको छ भने माओवादी केन्द्रले बेलबारी नगरपालिका, लेटाङ नगरपालिका र रङ्गेली नगरपालिका तथा केराबारी गाँउपालिका, बूढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र धनपालथान गाउँपालिकाको नेतृत्व लिने भएको छ ।
नेकपा मोरङका नेता तथा कार्यदलका सदस्य ऋषिकेश पोखरेलले विभिन्न सैद्धान्तिक दृष्टिकोणबाट स्थानीय तहको नेतृत्वको विषय टुङ्ग्याएको जानकारी दिए । उनले उत्तरी मोरङ र राजमार्गमा आधारित ८ स्थानीय तहमध्येबाट पूर्व एमालेले पाँच र पूर्व माओवादी केन्द्रले तीन तहको नेतृत्व गर्ने सहमति गरेको जानकारी दिए ।
कार्यदलको बैठकमा नेकपाका नेता गुरु बराल, केन्द्रीय सदस्यहरू शिवकुमार मण्डल, विनोद ढकाल, गोपि अछामी, महेश रेग्मी तथा जिल्ला तहका नेताहरू ऋषिकेश पोखरेल, गणेश उप्रेती, कुशल लिम्बू र रामलाल साहलगायत सहभागी थिए । कार्यदलले चैत्र ३ गते भित्र सबै तहको नेतृत्वसहित कमिटीमा रहने सदस्यहरूको नाम र सङ्ख्या टुङ्ग्याउन ऋषिकेश पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ । जसमा पोखरेलसहित गणेश उप्रेती, कुशल लिम्बू र रामलाल साह छन् ।