धरान/ प्रदेश नम्बर १ लाई किरात प्रदेश नामाकरण नगरिए पहिचानवादीहरुसँग सहकार्य गरेर विशिष्ट प्रकारको आन्दोलन गर्ने घोषणा गर्दै किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेसन सकिएको छ ।
 
बुधबार पत्रकार सम्मेलन गरेर १६ बुँदे धरान घोषणापत्र जारी गर्दै यायोक्खाले नामाकरणका बिषयमा महत्वपुर्ण छलफल तथा बहस गरेको नव निर्वाचि अध्यक्ष दिवस राईले बताए । 
 
घोषणापत्रमा किरात राई समुदायले किरात लिपी प्रयोगको लागि कार्यदल बनाएर चाडै कार्यान्वयन गर्ने जनाईएको छ । किरात समुदायसँग छलफल गरेर सिरिजंगा लिपीलाई नै किरात लिपीका रुपमा स्थापित गर्ने योजना रहेको अध्यक्ष राईले बताए ।
 
महाधिवेशनले विश्वरभर छरिएर रहेका विभिन्न भाषिक, थरगत किरात राईहरुलाई संगठित हुन आह्वान पनि गरेको छ । राष्ट्रिय जनगणना २०७८ लक्षित गरेर किरात राई समुदायको एकतालाई मजबुद बनाउन भाषिक, थरको पछाडी राई लेखाउने अभियान सञ्चालन गर्ने पनि घोषणा पत्रमा उल्लेख छ । 
 
त्यसैगरी मातृभाषा संरक्षण, सरकारी कामकाजमा रार्इ  भाषाहरुको प्रयोगमा जोड दिंदै घोषणापत्रमा धर्मका नाममा हुने सबै खाले हस्तक्षेपको विरोध गरिएको छ । धर्म निरपेक्षताको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ । घोषणापत्रमा सहीद रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।
 
४४ सदस्यीय कार्यसमिति चयन
महाधिवेसनले दिवस राईको अध्यक्षतामा ४४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
 
समितिको उपाध्यक्षमा टिकासरि राई, नगेन राई, जिवन हाताचो राई, तिलक याम्फु राई, राकेश राई निर्वा्चित भएका छन् । महासचिवमा जनक राई, उप महासचिवमा, भिम राई, शुभचन्द्र राई निर्वा्चित भएका छन । यस्तै सचिवमा दोर्पध्वज राई, हेमन्तकुमार राई, कृष्णकुमार राई, मातृका राई र अर्जुन जम्नेली राई निर्वाचित भए । कोषाध्यक्षमा देवान राई, सह कोषाध्यक्षमा महेन्द्र राई र परशुराम राई निर्वाचित भएका छन । जम्मा ८१ सदस्यीय कार्यसमितिमा बाँकी सदस्यहरु भुगोल, भाषा, भातृ संगठन लगायतबाट मनोनीत गरिने छ ।