टिकापुर / कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। फैसला पछि उनी टिकापुर घट्नाका नायक भएको प्रमाणित भएको छ ।
बुधबार फैसला सार्वजनिक गर्दै जिल्ला अदालत कैलालीले चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले यस्तो फैसला सुनाएको हो।
गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। मंगलबार वादी तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
प्रतिवादी तर्फबाट कानुन व्यवसायी गंगाराम उपाध्याय, वीरबहादुर जेठारा, गम्भीर सिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए। बहस सकिए पनि समय अभावका कारण हिजो फैसला हुन सकेको थिएन । यो घटनाको आठौं पेसीमा बहसमा प्रवेश गरेको थियो। १२औं पेसीमा यसको फैसला हुन लागेको कैलाली जिल्ला अदालतले जनाएको छ। घटनाको सुनुवाइमा भएको ढिलाइलाई मध्यनजर गर्दै अदालतले मुद्दालाई गत बुधबारदेखि निरन्तरता दिएको थियो।
घटनाको दुई बर्ष ६ महिना पछि अदालतको फैसला सार्वजनिक भएको हो। अर्का थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीलाई तीन बर्षको सजाए सुनाइएको थियो । तीन बर्ष सजाय भोगी सकेकाले उनीहरु आजै रिहा हुदैछन् ।
२०७२ भदौ ७ मा कैलालीमा भएको प्रदर्शनका क्रममा ८ प्रहरीसहित एक नाबलकको मृत्यु भएको थियो। उक्त घटनाको मुख्य अभियुक्त रेशम चौधरी थिए ।
घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।
तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै पहलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।