इटहरी / नेपाली कांग्रेस इटहरी सभापति हेमकर्ण पौडेलमाथि लागेको अपहरण तथा शरिर बन्धक सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले सफाई दिएको छ । जिल्ला अदालत सुनसरी र उच्च अदालत विराटनगरको फैसला बदर गदै सर्वोच्च अदालतले पौडेललाई सफाई दिएको हो ।
२०६९ सालमा इटहरीका दुर्गाबहादुर अधिकारी तास खेल्ने क्रममा अपहरण गरि पैसा असुलेको आरोपमा जिल्ला अदालत सुनसरीमा मुद्धा दायर भएको थियो । सुरुमा प्रहरीले मुद्धा दर्ता गर्न अस्वीकार गरेपछि अधिकारीले पुनरावेदन अदालतमा परामादेशको माग गर्दै उजुरी हालेका थिए ।
पुनरावेदन अदालतले सुनसरी प्रहरीका नाममा परामादेश जारी गरेपछि २०७० फागुन २६ गते मुद्धा दायर भएको थियो । मुद्धा दायर भए पछि पौडेल केही महिना फरार भएर २०७१ साउन २९ मा सुनसरी जिल्ला अदालतमा हाजिर भएका थिए । न्यायधिस ओमप्रकास मिश्र र केदार प्रसाद चालिसेको संयुक्त इजलासले पौडेललाई सफाई दिएको हो ।
पौडेललाई जिल्ला अदालत सुनसरीले साढे ३ बर्ष कैद र २५ हजार जरिबना तोकेको थियो । त्यस बिरुद्ध पौडेलले उच्च अदालतमा पुरानावेदन गरेका थिए । त्यसमा सुनसरी अदालतले गरेको फैसलालाई घटाउदै दुई बर्ष कैद र २५ हजार जरिवाना कायम गरेको थियो । दुबै निर्णयप्रति चित्त नबुझेको भन्दै पौडेलले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए ।