इनरुवा/निर्मला पन्तको हत्याराको विषयलाई अनावश्यक रुपमा नउचाल्न संघीय कृषि तथा पशुपंक्षी विकास राज्य मंत्री रामकुमारी चौधरीले आग्रह गरेकी छिन् ।

बलात्कार पछि हत्या भएको विषय छानविनको क्रममै रहेकाले अनावश्यक अडकलबाजी नगरी नतिजा कुर्न भन्दै पन्तका नाममा राजनीति गर्न खोज्नेहरुका हकमा सुझाइन् । घटना पकृया जटिल रहेकाले बास्तविकता बाहिर ल्याउन ढिलाई भएको बताउँदै राज्यमंत्री चौधरीले सरकारले केहीदिनभित्रै दोषी पत्ता लगाई सार्वजनिक गरिने दाबी गरिन् ।

प्रहरी प्रशासन र सरकार सक्षम रहेको बताउँदै चौधरीले बाहिर आउने वास्तविकताले सबैलाई चकित पार्ने समेत ठोकुवा गरिन् ।

सुनसरी सदरमुकाम इनरुवाबाट प्रशारणमा रहेको पपुलर एफ एम ९० मेघाहर्जको १०औं वार्षिकोत्सव समारोहको प्रमुख अतिथि रहनु भएकी मंत्री चौधरीले सरकारले गरेका राम्रा काम नदेख्नेहरुले सरकार बिरोधी मुद्दा छेड्न निर्मलाको विषयमा राजनीति थालेको आरोप लगाइन् ।

चौधरीले भनिन “ हत्या र हिंसा जस्ता घटना निन्दनीय छ । सरकार त्यस्ता घटना रोकथामकालागि तदारुकताकासाथ लागि परेको छ । अनुसन्धानको विषय सूक्ष्म हुने भएकाले प्राविधिक कारणवश ढिला हुन पुगेको विषयलाई अनाहकमा उचाल्न उचित हुँदैन् ।”

कार्यक्रममा संघीय सांसद सीताराम मेहता, प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, इनरुवा नगरपालिका प्रमुख राजन मेहतासहित एफएम संचालक रामप्रसाद मेहता र स्टेशन म्यानेजर प्रकाश मेहता, कालुराम गुरुङ, पोष्टकुमार नेपाल, जमुना पोखरेल गौतम, वकिल दाहाल लगायतकाले बोलेका थिए ।