बिर्तामोड/झापा क्षेत्र नम्बर २ ‘ख’ का सांसद् बिर्खबहादुर प्रधान राजनीतिज्ञ कम कृषक बढी छन् । सांसद् प्रधान अहिले व्यवसायिक सुँगुर पालनमा होमिएका छन् । कृषि कर्मलाई उनी पहिलो प्राथमिकतामा राख्छन् ।
दैनिक बिहान साढे ४ बजे उठ्छन् । मुख धुने, दाँत माझ्नेलगायतका नृत्यकर्मपछि उनी खेतीपातीमा जोडिन्छन् । बिहानको ब्यायाम नै खेतीपातीमै बित्छ । बारीमा सागपात लगाउनु, गोडमेल र पाकेको बाली उठाउनु उनको दिनचर्या हो । ‘यसमै सन्तुष्ट हुन्छु, कामले स्वास्थ्यमा साथ त दिएको छ नै आत्मनिर्भर बन्न समेत सहयोग गरेको छ’ प्रधान भन्छन् ‘हामी आफै आत्मनिर्भर हुँदै व्यवसायिक हुन जरुरी छ ।’
परम्परागत धानबाली लगाउँदै आएका प्रधानले दुई वर्षअघि कुखुराको खोर बनाए । एक, दुइ सिजन कुखुरा पालेका उनले कुखुराबाट भनेजस्तो आम्दानी नभएपछि त्यही खोरलाई सुँगुर पालनमा खर्चिए । अहिले खोरमा पाँचवटा माउ र एउटा बीर (भाले) सुँगुर छ ।
घरमा हुँदा प्रधान आफै सुगुँरको हेरचाहमा व्यस्त हुन्छन् । ‘बैठक नबसेका बेला म राजधानी विराटनगर जान्न, प्रधानले भने, ‘कुनै बेला आकस्मिक योजना बन्यो भने मात्र हो राजधानी जाने, नत्र यही फर्ममा दिन बित्छ ।’
व्यवसायिक सुँगर पालनसँगै माछा पनि पालेका छन् ।
ग्रसकार्प, सिल्भरकार्प, कमनकार्प, नैनी जातका माछा उनको पोखरीमा छ । सुँगुरको दिसापिसाब माछा पोखरीमा जाने व्यवस्था मिलाएको उनले बताए । त्यसो गर्दा माछालाई चारो धेरै आवश्यक नपर्ने प्रधानले सुनाए । उनले माछाका लागि सुँगुरको दिसापिसाब पौष्टिक आहार हुने भएकाले अत्यन्त छिटो बढ्ने उनले बताए ।
‘सुँगुर र माछा पालनबाट सन्तुष्ट छु’ प्रधानले भने, ‘वर्षभरीको खर्च कटाएर यति थोरै जमिनबाट पनि २ देखि ३ लाख रुपैंयाँ बचत हुन्छ ।’ उनले परम्परागत कृषिभन्दा केही फरक सोच्न सके जिविकोपार्जन गर्न कुनै समस्या नहुने अनुभव समेत सुनाए ।
‘धेरै नै अपेक्षा गरेर नहुँदो रहेछ’ प्रधानले भने, ‘यति कम जमिनलाई पनि उचित प्रयोग गर्दा प्रतिफल राम्रै मिलेको छ ।’ झापाको अर्जुनधारा नगरपालिका–११ मा प्रधानको १ बिघा जमिनमा माछा र सुँगुरको फर्म रहेको छ ।