रङ्गेली/ नेपालको राजनीतिक, सामाजिकलगायतका विभिन्न क्षेत्रका विसङ्गति माथि स–शक्त अभिव्यक्ति दिँदै आएका बुद्धिजीविलाई ‘नर्थ साउथ कलेक्टिभ्स’ ले सोमबार विराटनगरमा जमघट गराएको छ ।

काठमाडौं भन्दा बाहिर पहिलो पटक मानवीय जीवनको आधारभूत सामाजिक तथा राजनीतिक पक्षका जटिलता बुझ्न बृहत् अध्ययन अनुसन्धान गर्ने उद्देश्यले विराटनगरमा संस्थाको केन्द्रीय कार्यालय स्थापना भएको हो ।

संस्था शुभारम्भको अवसरमा ‘जेलिएको सङ्घीय लोकतन्त्र’ विषयमाथि बौद्धिक वर्गसँग छलफल चलाइएको थियो ।

छलफलमा डा. देवेन्द्रराज पाण्डेले ऐनकानूनको सुधारले नेपालमा केही हुन नसक्ने बताए । उनले आधारभूत पद्धतिमै सुधार ल्याउनु आवश्यक रहेको बताए । ‘नयाँ मूल्य मान्यतामा पोलिटिकल कल्चरलाई परिवर्तन गर्न आवश्यक छ ।’ उनले भने ‘अहिले पनि विकासको बारेमा पञ्चायत कालकैजस्तो सोचाइ कायम रहेको छ ।’

छलफलमा राजनीतिक विश्लेषक सिके लालले अहिलेको निर्वाचन प्रणाली नै गलत भएको बताए । निर्वाचनपछि ५ वर्षसम्म सुतेर बस्न नसक्ने बताए । उनले बैठक, सभा, चिन्तन चौतारीमा उठेका कुरालाई पनि सुनिनु पर्ने धारणा राखे ।

अहिलेको नेपालमा ठूला र साना दुवैलाई एउटै दृष्टिकोणले हेर्ने गरिएको बताए । जसले गर्दा ठूलाकै हालीमुहाली कायम रहने बताए । उनले नेपालको वर्तमान संविधानले व्यवहारिक कुरालाई समेट्न नसकेको बताए ।

अनुसन्धान कर्ता डा. अमिना सिंहले नेपालमा अझै पनि ‘आफू मानिस हुँ’ भन्ने थाहा नपाएको बताइन् । आफैंलाई चिन्न नसक्नेले कसरी कुरा राख्न सक्छ भन्दै प्रश्न गरिन् । उनले नेपालको नगरिक समाज आफ्नो काम नगरेर ‘बायस’ भएको बताइन् ।

दलित अधिकारकर्मी भोला पासवानले स्थानीय निकायमा पुगेका जनप्रतिनिधि नै विभेदको सिकार भइरहेको बताए । उनले संविधानले व्यवस्था गरेको अधिकारका लागि अहिले पनि दलितले सङ्घर्ष गरिरहनु परेको बताए ।

नेपाल आदिवासी जनजाति महासङ्घका दिलबहादुर थेबेले राजनीतिको भर्याङबाट नेतृत्वमा पुगेका जनजाति नेताले आफ्नैका पक्षमा बोल्न नसकेको अरोप लगाए । कार्यक्रमको अन्तिममा बोलेका लेखक खगेन्द्र सङ्ग्रौलाले यस्ता संस्थाले नयाँ आयाम ल्याउने बताए ।

कार्यक्रमको संयोजन संस्थाका संस्थापक सल्लाकार दिनेश श्रेष्ठ र संस्थाका प्रबन्ध निर्देशक राकेश मिश्राले गरेका थिए । संस्थाका अध्यक्ष भाष्कर गौतमले विराटनगरलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा जोड्ने उद्देश्यले स्थापना गरेको बताए ।