उदयपुर/ महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले मुलुक ठिक बाटोमा अघि बढिरहेको बताएका छन् ।
बिहीबार उदयपुरको जिल्ला सरकारी वकिल कार्यालयको नव निर्मित भवन उद्घाटन गर्दै महान्यायाधीवक्ता खरेलले संघ, प्रदेश र स्थानीय तहको कानूनहरु निर्माण गरेर अघि बढिरहेकाले गन्तब्य गलत दिशामा नरहेको बताएका हुन् ।
बढ्दो यौनजन्य हिंसा र बलात्कार जस्ता गम्भीर घटना बढिरहेको बेला राज्यले नियम कानून बनाई छिटो छरितो तरिकाले मुद्दाको फैसला गरि पिडिलाई न्याय दिलाउने उद्देश्यले जिस्तेज बनाउनका लागि योजना अघि सारिएको खरेलले बताए ।
नेपालले ५५ बर्षीय पुरानो फौजदारी कानुनलाई प्रतिस्थापन गर्दै नयाँ कानुन कार्यान्वयनमा ल्याएकोले फौजदारी कानुनमा ठुलो आधुनिकीकरण भएको उनले बताए । ७७ वटै जिल्लाका सरकारी वकिल कार्यालयहरू दुई वर्ष भित्र भौतिक संरचना सम्पन्न बनाउने खरेलले बताए ।
दुई करोड २८ लाख ८३ हजार तीन सय ४२ रूपैयाँमा तीन तले भवन निर्माण गरिएको हो ।
गत वर्षको असार १५ गते निर्माण शुरु गरिएको भवन छ महिना अगावै सम्पन्न भएको जिल्ला न्यायाधीवक्ता हरिकुमार पोखरेलले बताए । भवन १० कठ्ठा क्षेत्रफलमा निर्माण भएको हो ।