घण्टाघर । धरानका स्कुले छात्रछात्रा सबैलाई साहित्य क्षेत्रमा अग्रसर गराउन लागिपरेका छन् ।
साहित्य क्षेत्रमा धरानका स्कुले बालबालिकादेखि अग्रजलगायत सबैको निष्क्रियता बढेको भन्दै उनीहरू लागिपरेका हुन् । ‘बालबालिकादेखि अग्रजहरूलाई समेत समेट्ने कोशिस गरिरहेका छौं’ वल्र्ड वारियर्स समूहमा रहेर अग्रसरता देखाइरहेका धरान–१५ का लियोन श्रेष्ठले भने, ‘निष्क्रिय रहेको साहित्य क्षेत्रलाई जगाउन साथै सबैलाई जागरूक गराउन यस्तो कार्यक्रम आयोजना गरेका हौं ।’
सोमबार धरान–१५ स्थित बिग फुटसलमा कविता सुन्ने सुनाउने कार्यक्रम आयोजना भएको थियो । उपस्थित अधिकांश छात्रछात्राले कवितामार्फत् आप्mनो प्रस्तुति दिए । कसैले अङ्ग्रेजीमा कविता सुनाए भने कसैले नेपालीमा । कविता सुनाइसकेपछि समूहकी आयुषा पराजुलीले कसले कस्तो कविता सुनायो, हाउभाउ, प्रस्तुति कस्तो थियो आदिबारे प्रतिक्रिया मात्रै दिइनन्, अझ कविता यस्तो भए गजबको हुन्थ्यो भन्नेसमेत प्रतिक्रिया दिइन् । ‘पहिलोपटक कार्यक्रम आयोजना गरेका हौं तर पनि सोचेभन्दा राम्रो भयो’ –पराजुलीले भनिन् ।
यसले छात्रछात्रा र अग्रजलगायत सबैमा जागरूकता आउने साथै प्रतिभा पनि निखारिँदै जाने समूहका श्रेष्ठको भनाइ छ । यस्तो कार्यक्रमले कविता लेख्न, लेखाउन साथै सुनाउन पनि सबैलाई प्रेरित गर्ने उनको भनाइ छ ।