तेह्रथुम । जिल्लामा उत्पादन भएको खाद्यान्य मध्ये करोडौको खाद्यान्य घरेलु मदिरा बनाउन प्रयोग गरिने गरिएको छ । जिल्लामा उत्पादन भएको करिव ८ हजार मेट्रिकटन खाद्यान्य जाँड र रक्सी लगायतका घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको हो । जिल्लामा उत्पादित ५६ हजार मेट्रिकटन खाद्यान्यमध्ये ८ हजार मेट्रिकटन घरेलु मदिरा बनाईने गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार घरेलु मदिरा बनाउन प्रयोग हुने खाद्यान्य करिव २४ करोड रुपैयाँ बरावरको हो । घरेलु मदिरामा प्रयोग गरिने उक्त खाद्यान्यबाट करिव २५ हजार जनसंख्यालाई एक वर्ष खान पुग्ने कार्यालयले जनाएको छ । घरेलु मदिरा बनाउन जिल्लामा सवैभन्दा बढी कोदा प्रयोेग हुने गरेको छ । घरेलु मदिरा बनाउन जिल्ला बाहिरबाट समेत कोदो निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कोदो जिल्लामा बार्षिक सरदर २ हजार ७ सय मेट्रिकटन उत्पादन हुन्छ । घरेलु मदिराका लागि अझै करिव ५ सय मेट्रिकटन कोदो आयात हुने अनुमान गरिएको छ । बागवानी विकास अधिकृत दिपा देवका अनुसार कुल उत्पादित खाद्यान्यमध्ये घरेलु मदिरामा ८ हजार मेट्रिकटन र भण्डारणमा ८ हजार मेट्रिकटन नोक्सान हुने गरेको छ । यसैगरी पशु आहारमा १० हजार मेट्रिकटन र विऊमा १ हजार २ सय मेट्रिकटन तथा खाद्यान्यको प्रशोधनमा २ हजार ८ सय मेट्रिकटन लाग्ने गरेको छ । करौडौको खाद्यान्य घरेलु मदिरामा खेर गैरहेकोले खाद्यान्यको सही उपयोगका लागि जिल्लामा सवैले जनचेतना फैलाउनु आवश्यक रहेको अधिकृत देवले बताईन् । आदीवासी–जनजातिको बाहुल्य रहेको जिल्लामा खानपिनको ब्यवहारमा समेत परिवर्तन गर्नुपर्ने पूर्व संसद तेजमान कन्दङ्गवाको भनाईरहेको छ । परम्परागत रुपमा आदीवासी–जनजातिहरुले मात्र बनाउने घरेलु मदिरा हिजो आज अन्य जातिहरुले पनि बनाउन थालेका छन् । जसले गर्दा घरेलु मदिरा बनाउन प्रयोग गरिने खाद्यान्यको मात्र बढ्दै गैरहेको छ । जिल्लामा धान, मकै, कोदो र गहुँ लगायतका खाद्यबाली गरी कुल ५६ हजार मेट्रिकटन खाद्यान्य उत्पादन हुने गरे पनि १९ हजार ४ सय ८ मेट्रिकटन मात्र खान योग्य हुने अधिकृत देवले बताईन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा बार्षिक २० हजार ४ सय १६ मेट्रिकटन खान योग्य खाद्यान्य आवश्यक छ भने १ हजार ८ मेट्रिकटन खाद्यान्य अपुग रहेको छ ।