काठमाडौं/ पुँजी बजारमा सोमबार उतारचढाव देखिए पनि कारोबार रकम भने निरन्तर माथि गइरहेको छ । पौने २ बजेकै आसपासमा कारोबार रकम १ अर्ब हाराहारीमा पुगिसकेको छ । सूचक भने करिब ७ अंक जतिले तल झरेको छ । कारोबार रकममा तेजी आएकाले बजारमा पैसा ओइरिएको विश्लेषण गर्न कुनै गाह्रो पर्दैन ।
यसअघि तरलता अभाव र चर्को बैंक ब्याजदरलाई कारण देखाएर सेयर बजारमा पैसा आउन नसकेको बताइदै आएको हो । तर सेयर भाउ निरन्तर घटेपछि नाफा देख्नेले एकाएक बजारमा पैसा खन्याएका छन् । यसबाट नेप्से सूचक सँगै कारोबार रकममा समेत तेजी आउन सहयोग पुगेको हो ।
बजार निरन्तर बढ्दा अल्पकालीन कारोबारी नाफा बुक गर्न लागेका छन् । कतिपयले अझै किन्ने परिमाण बढाइरहेका छन् भने केही लगानीकर्ता यस्तो बेला किन्ने किन नकिन्ने भनेर अन्योलमा पनि परिरहेका छन् । जे होस् बजार बढ्दा धेरैलाई राहत भएको छ । मार्जिन कलको त्रास घटेको छ । बजारले दिगो गति लिने धेरैले अपेक्षा गरिरहेका छन् ।