गतमहीना भारतको सुुन आयातमा कमी आएको एक तथ्याङ्कले देखाएको छ । सुनको स्थानीय भाउमा कमी आएका कारण त्यहाँको उपभोक्ता माग प्रभावित बनेको र यसैकारण आयात अघिल्लो वर्षको तुलनामा आधा घटेको बहुमूल्य धातुसम्बन्धी परामर्शदाता संस्था जीएफएमएस र बैङ्क डिलरले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । गतमहीना सुनको स्थानीय भाउ १६ महीनाकै उचाइमा पुगेका कारण भारतको सुन आयात ५२ दशमलव ५ टनमा समेटिएको हो । गतवर्षको मार्च महीनामा भने भारतमा १ सय ३ दशमलव ७ टन सुन आयात भएको तथ्याङ्क छ ।

सुनको आयातमा आएको कमीले भारतको व्यापार घाटा घट्न सहयोग पुग्ने विश्लेषण गरिएको छ । फेब्रुअरीमा भारतको व्यापार घाटा ५ महीनाकै न्यून विन्दुमा ओर्लिएको थियो । भाउमा भएको वृद्घि र ग्रामीण क्षेत्रको मागमा आएको कमीका कारण पहेँलो धातुको आयात खुम्चिएको बताइएको छ । भारतको दुईतिहाइ सुनको माग ग्रामीण क्षेत्रबाट आउने गरेको छ । त्यस भेगमा मानिसहरूले सुनका गहनालाई सम्पत्तिका रूपमा साँचेर राख्ने गरेका कारण उनीहरूको माग बढी हुने गरेको हो । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको र रुपयाको भाउ कमजोर बनेका कारण गतमहीना भारतमा सुनको स्थानीय मूल्य १६ महीनाकै उचाइमा पुगेको थियो । यो वर्षको पहिलो त्रैमासमा सुनको आयात गतवर्षको तुलनामा ३२ प्रतिशत घटेर १ सय ६३ दशमलव १ टनमा ओर्लिएको तथ्याङ्कले देखाएको छ । अप्रिलमा विवाहको मौसम र अक्षय तृतीयाजस्ता पर्व परेका कारण सो बेलामा भने सुनको माग बढ्न सक्ने व्यापारीहरूको आशा छ । एजेन्सी