पानवारी । पानवारी भलिबल रनिङ कपको तेस्रो संस्करण यही पुष २७ गतेदेखि हुने भएको छ । सयपत्री बोइज युनियन क्लब धरान–६ पानवारीको अयोजनामा प्रत्येक वर्ष आयोजना भइरहेको रनिङ कप यसपटक पनि पुष २७ गतेदेखि सुरु भइ २ गते समापन हुने आयोजकले सोमबार धरानको होटल हङकङमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । प्रतियोगिताको विजेताले ३५ तोला चाँदीको रनिङ ट्रफि साथै ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३१ हजार प्राप्त गर्ने आयोजक क्लबका खेल संयोजक राजन न्यौपानेले बताए । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स तथा उत्कृष्ट लिफ्टरलाई पनि पुरस्कृत गरिने न्यौपानेले बताए । प्रतियोगिता १२ लाख ८७ हजारको लागतमा सम्पन्न हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो भने प्रतियोगितालाई धरान उपमहानगरपालिकाको संयोजन र टुवोर्ग वियर, निशान साकोस, बराह ज्वेलरी, हिंवा वाईन लगायतले प्रायोजन गरेको जानकारी आयोजक क्लबका अध्यक्ष सुनिल भण्डारीले जानकारी दिएका छन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका क्लबहरु र विभागीय शसस्त्र, आर्मी र पुलीसको पूर्वाञ्चल क्षेत्रीय टीमको सहभागीता रहेकोले खेल उत्कृष्ट हुने जानकारी दिइएको थियो । प्रतियोगिताको पहिलो संस्करणको विजेता त्रिवेणी युवा क्लब याङशिला र दोस्रो संस्करणको विजेता डुम्राहा खेल विकास संस्थाले जितेको थियो ।