पाँचथर/ फिदिममा सोमबार किरात इतिहासकार इनमासिंह चेम्जोङको ११५ औं जन्मजयन्तीको अवसरमा कार्यक्रम गरी इमानसिंको स्मरण गरिएको छ ।

[caption id="attachment_67440" align="alignleft" width="434"] फोटो : इमानसिं चेम्जोङ फायल तस्विर[/caption]

याक्थुङ मुन चइत चोक सयङ् पाँचथरले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्लास्थित भाषा, साहित्य र इतिहासको क्षेत्रमा कृयाशील व्यक्तित्वहरुले इमानसिंको तस्बिरमा माल्यार्पण गरी श्रद्धा ब्यक्त गरेका थिए । उनको सम्मानमा एक मिनट मौन धारण गरिएको थियो । कार्यक्रममा इमानसिं चेम्जोङको व्यक्तित्वमाथि प्रकाश पार्दै लिम्बू भाषा विकास संस्था (लिल्डा) का अध्यक्ष दीलेन्द्र कुरुम्बाङले इमानसिंह द्धारा लिखित पुस्तकहरुकै कारण किरात इतिहास र भाषा–साहित्यको प्रचार र बिकास यो अवस्था सम्म आएको बताए । किरात इतिहासकार तथा किरात सिरिजंगा लीपि र भाषा–साहित्यका प्रचारक इमानसिंको जन्म बाबु मेघवरसिं र आमा दावापुहाङमाको छैठौं सन्तानको रुपमा १ जनवरी सन् १९०४ मा दार्जिलिङको कालेम्पुङमा भएको थियो । कालेम्पुङकै स्थानीय स्कुलबाट म्याट्रिकुलेशन र सेन्टजेभियर कलेज कोलकत्ताबाट आईए उतीर्ण गरेका इमानसिंले दार्जिलिङ, सिक्किम र नेपालमा रहेर किरात इतिहासको खोज सँगै भाषा–साहित्यको प्रचार गरेका थिए । उनकै पहलमा वि.सं.२००८ मा लिम्बुवान सुधार संघ समेत गठन भएको थियो ।

सन् १९६६ देखि १९७५ सम्म त्रिभुवन विश्व विद्यालयमा किरात इतिहास विशेषज्ञको रुपमा जागिरे भएर काम गरेका इमानसिंका ‘तुम याक्थुङ निङ्वाभु साप्ला’, ‘किरात मुन्धुम (बेद)’, ‘किरात मुन्धुम’, ‘किरात साहित्यको इतिहास’, ‘किरात दन्त्यकथा’, ‘हिस्ट्री एण्ड कल्चर अफ् किरात पिपुल’ र ‘किरातकालीन बिजयपुरको इतिहास’ जस्ता महत्वपूर्ण कृतिहरु प्रकाशित छन् । हाल इमानसिंद्धारा लिखित पुस्तकहरुको सर्बाधिकार उनका परिवारले लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुललाई दिएको छ । प्राज्ञ अमर तुम्याहाङका अनुसार इमानसिं वि.सं.२०२७ मा पुस्तकाकार रुपमा किरात ब्याकरण प्रकाशन गर्ने पहिलो किराती ब्याकरणकार समेत हुन् ।

किरात इतिहासको खोज, अनुसन्धान र भाषा, लीपि र साहित्यको प्रचार र बिकासमा गरेको योगदानको सम्मान गर्दै नेपाल सरकारले वि.सं.२०५५ मा इमानसिंको तस्बिर हुलाक टिकटमा समेत प्रकाशित गरेको छ । त्यस्तै कक्षा–१० को अनिबार्य नेपाली बिषयको किताबमा समेत इमानसिंको जीवनि प्रकाशित छ । यसै गरी सिक्किम सरकारको लगानिमा पश्चिम गेजिङमा इमानसिं मेमोरियल भवन निर्माणधिन छ भने चुम्लुङहीम ललीतपुर, धनकुटाको भेडेटार र पाँचथरको घुर्बिसे पञ्चमीमा इमानसिंको शालिक निर्माण गरिएको छ । किरात याक्थुङ चुम्लुङले कोष खडा गरी हरेक दुई–दुई बर्षमा २५ हजार रासीको ‘इमानसिं चेम्जोङ पुरस्कार’ समेत वितरण गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै याक्थुङ मुन चइत चोक सयङका केन्द्रीय सदस्य सागर केरुङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य चन्द्र कुमार आङदेम्बे, नेपाल तामाङ घेदुङ संघ पाँचथरका अध्यक्ष जंग तामाङ, नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष बिजयबोध लाओती र पाँचथर गजल मञ्चका अध्यक्ष दीपक खनालले किरात इतिहासलाई जीवन्तता दिन इमानसिंले पु¥याएको योगदान आविश्वरणीय रहेको बताएका थिए । इमानसिंको जन्मजयन्तीलाई नेपाल सरकारले साझा पर्वको रुपमा स्थापित गर्नुपर्ने उनीहरुको भनाई थियो । कार्यक्रम याक्थुङ मुन चइत चोक सयङ पाँचथरका उपाध्यक्ष डि.आर.हाङसरुम्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।