काठमाडौं/ केही हप्ताअघि विवाह बन्धनमा बाँधिएका भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाह खर्चबारे पछिल्लो समय विभिन्न गसिप हुन थालेका छन् । यो जोडीको विवाहमा एक अर्ब भारतीय रुपैयाँ खर्च भएको अनुमान गरिएको छ।

भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाहमा एक अर्ब भारतीय रुपैयाँ खर्च भएको अनुमान गरिएको छ। यो रकम इटालीमा विवाहका लागि मात्र भएको हो। उनीहरूले विवाहपछि भारतको मुम्बई र दिल्लीमा दिने पार्टीको खर्च यसमा जोडिएको छैन।

इटालीमा विवाह गरेका विराट र अनुष्काले आउँदो डिसेम्बर २१ मा दिल्ली तथा २६ मा मुम्बईमा रिसेप्सन दिनेछन्। इटालीको एक रिसोर्टमा भएको विवाहमा जाने एक जना पाहुनाका लागि उनीहरूले एक करोड भारतीय रुपैयाँ खर्च गरेको दाबी भारतीय सञ्चार माध्यमले गरेका छन्। उनीहरूको विवाहका लागि ४४ जना आफन्त इटाली पुगेका थिए। उनीहरू एक हप्ता इटालीमा बसेका थिए।

विवाहलाई हिन्दू परम्परामा ढाल्न बाजागाजा, पञ्जावी नृत्यलगायत सबै व्यवस्था गरिएको थियो। इटालीमा नै मन्दिर स्थापना गरेका एक जना भारतीय पुजारीले उनीहरूको विवाह गराएका थिए। ती पण्डितले मण्डपमा पुगेपछि मात्र विराट कोहली र अनुष्का शर्माको विवाह गराउन लागेको पत्तो पाएका थिए।