वि.सं. २०७४ साल असोज १ गते। आइतबार। इश्वी सन् २०१७ सेप्टेम्बर १७ तारिख। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– द्वादशी, १४:१९ बजेउप्रान्त त्रयोदशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुने समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। तापनि, शुभचिन्तकहरूको माध्यमबाट स्थितिमा सुधार आउनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि काममा बाधा पुर्याउन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, मिहिनेतले मात्र प्रतिफल दिलाउन सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा तत्काल लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा मिल्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गर्दा कर्मको उचित प्रतिफल पाइनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। व्यापारमा मनग्गे लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम गर्न नसकिएला। आश्वासन बाँड्नेहरूले समेत वचन पूरा गर्ने छैनन्। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा समेत न्यून सफलता मात्र प्राप्त हुने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। चोटपटकको योग देखिएकाले अलि सजग रहनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। तापनि शुभचिन्तकहरूको साथ प्राप्त हुनाले पछिलाई फाइदा हुनेछ। नियमित कामलाई भने निरन्तरता दिन सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मिहिनेतले प्रशस्त आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। तर, वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ होला। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुन सक्छन्। प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
स्वास्थ्यमा देखिएको कमजोरीले चिताएका काममा बाधा हुनेछ। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। समस्या देखिए पनि धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। (नेपाली पात्रो)